कालीगण्डकीमा अबैध दोहन, नदी थुनेर बगर उत्खनन् (फोटो फिचर)

  • १७ चैत्र २०७५, आईतवार
  • 3223 पटक पढिएको

म्याग्दी, १७ चैत । बेनी नगरपालिका–१ सारेमारेको बस्ती जोखिममा पर्ने गरि नदीको धार परिवर्तन गरि बगर उत्खनन भएको छ । उच्च अदालत बागलुङमा कालीगण्डकी नदीको दोहनबारे परेको मुद्धा फैसला नभएको कारण नगरपालिकाले ठेक्का नलगाएको मौका छोपेर स्थानीय क्रसर उद्योग सञ्चालकले अबैध तवरले नदी जन्य पदार्थ उत्खनन गरेको भेटिएको हो ।

जलजला गाउँपालिका–७ लस्तिमा सञ्चालित ओम श्री दक्षिणकालि क्रसर उद्योगले कालिगण्डकीको धारलाई डाइभर्सन गरि म्याग्दीको सारेमारे तर्फ धार परिवर्तन गरि अबैद्य तवरले बालुवा र ढुंगा उत्खनन गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिकाको सारेमारे र पर्वतको जलजला गाउँपालिकाको लस्तिको बिच भएर बग्ने कालिगण्डकी नदिको बिचतर्फ रहेको टापुमा गत बर्ष जिल्ला समन्वय समिति म्याग्दीले करिब रु १४ लाखमा ठेक्का लगाएको थियो ।
यो बर्ष उच्च अदालतमा कालीगण्डकी उत्खननको विरुद्धमा परेको मुद्धा फैसला नभएकाले बेनी नगरपालिकाले कालिगण्डकी नदीको कुनैपनि ठाउँमा ठेक्का नलगाएको मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

क्रसर सञ्चालक विल्पव हमालले बेनी नगरपालिका क्षेत्रमा पर्ने बगर उत्खननको लागि अनुमति माग्न आएपनि नगरपालिकाले स्विकृत दिइनसकेको कारण बगर उत्खननको सम्बन्धमा थप बुझ्ने प्रयासमा रहेको उहाँले बताउनुभयो ।‘‘ उहाँले बेनी नगरको बगर समेत उत्खननको लागि निवेदन दिनुभएको थियो, हामीले सो निवेदनलाई कार्यपालिकामा पेश ग¥यौ, तर कुनै निष्कर्ष निस्किएन, गत बर्ष जिसस म्याग्दीले ठेक्का लगाएको बगर अहिले कुनै प्रकृया पुरा नगरि उत्खनन हुन सक्दैन,’’–उहाँले भन्नुभयो ।

सारेमारेको बगरमा गत बर्ष म्याग्दीले ठेक्का लगाएको ठाउँमा यस बर्ष नदीको धार परिवर्तन गर्न खोजेको पाईएपछि एक महिना अघि जिसस, प्रशासन र नगरपालिकाको प्रतिनिधिहरुले स्थलगत अनुगमन गरि धार परिवर्तन गर्न रोकेको भएपनि अहिले पुन धार परिवर्तन गरि उत्खनन गरेको गुनासो आएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । यता क्रसर सञ्चालक हमालले भने आफुले जलजला गाउँपालिकाबाट ठेक्का लिए बमोजिम नै नदी उत्खनन गरेको दावि गर्नुभयो । ‘‘म सारेमारे तर्फको बगरमा गएको छैन, पर्वततर्फकै भागमा मात्रै उत्खनन गरेको छु’’–हमालले भन्नुभयो ।