कालीगण्डकीमा बन्ने १६४ मेगावाटको जलविद्युतमा चिनियाँ लगानी सुनिश्चित

  • १६ चैत्र २०७५, शनिबार
  • कमल खत्री
  • 1952 पटक पढिएको

कमल खत्री

म्याग्दी, १६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा निर्माण हुने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा चिनियाँ लगानी सुनिश्चित भएको छ । काठमाण्डौमा भएको लगानी सम्मेलनमा युनान सिन्ह्वा वाटर कम्पनीले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको हो । आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चिनियाँ कम्पनीका प्रतिनिधिबिच लगानी सझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यस अघि भएको चिन भ्रमणका क्रममा चिनिया कम्पनीले यस आयोजनामा लगानीको लागि समझदारी गरेको थियो । लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको आयोजनाले गति लिने अपेक्षा गरिएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो । म्याग्दी र मुस्ताङ भएर बग्ने कालिगण्डकी नदीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले वि.सं २०६३ मा आयोजनाको सर्वेक्षण भएको थियो ।
लामो समयदेखि प्रतीक्षामा रहेको आयोजनामा चिनियाँ लगानी भित्रनु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको जिसस प्रमुख केसीले बताउनुभयो ।

वि.सं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्द भएको थियो । पुरानो लाइसेन्स रद्द भएपछि नेपाल कालिगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रियाअघि बढाएको हो ।  सन २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने पहिलेको लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l