घुम्टे युवा परिवारद्वारा सार्वजनिक स्थलमा सिसिटिभी जडान ।

  • १६ चैत्र २०७५, शनिबार
  • 1411 पटक पढिएको

बागलुङ चैत १६ ।  सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले कार्यालय आपपासमा सिसिटभी क्यामेरा जडान गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्दै सदरमुकाम बाहिर सार्वजनिक स्थलमा पहिलो पटक सिसिटिभी जडान गरिएको अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । संस्थाले गत चैत ३ गतेदेखि ६ गतेसम्म आयोजना गरेको आफनो ३४ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली मेला २०७५ को अवसर पारी सिसिटिभी क्यामेरा जडान गरेको हो ।

गाउ समाजमा विकृति विसंगति न्यूनिकरण गर्ने उद्येश्यले गत कात्तिक १ गते देखि वडा नं ७ भित्र मदिरा विक्री वितरण र सेवनको वडा सरकार स्थानिय कल्वहरु, समुह र पसलहरुको संयुक्त भेलाले समय निर्धाण गरेको थियो । उक्त योजनालाई यसले थप टेवा पुग्ने अपेक्षा अनुरुप गलकोट नगरपालिका वडा नं ७ को महत्वपुर्ण स्थान सप्ताहघाट, सानोखोला खोलापारी आसपास सॅगै संस्थाको कार्यालय परिसरमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै झण्डै १ लाख ५० हजारको लागतमा उक्त कार्य अगाडि बढाईएको हो ।

सिसिटिभी क्यामेराको सम्पुर्ण लागत मल्म सानोखोला निवासी युवा समाजसेवी तथा उद्यमी दाजुभाई टेक बहादुर थापा र तुलबिर थापाले संस्थाका आजीवन सदस्य स्वर्गिय बाबा टोप बहादुर थापा र हजुरबाबा जंग बहादुर थापाको स्मृतिमा आर्थिक सहयोग गरेका छन । संस्थाको स्थापनाकाल देखि निरन्तर माया गर्दै आएका दाजुभाईले यसपटक संस्थाले ल्याएको सिसिटिभी क्यामेराको योजना समय सापेक्ष र प्रशंसनिय रहेको भन्दै आफुहरु सहयोग गर्न ईच्छुक भएको बताएका छन ।

रोजगारीको सिलसिलामा लामो समय देखि जापानमा रहेर होटल व्यावसाय गर्दै आएका दुई दाजुभाईले समाजमा हुने हरेक सामाजिक काममा आर्थिक सहयोग प्रदान गर्दै आईरहेका छन । भाई तुलबिर थापा गलकोट रहॅदा घुम्टे युवा परिवारको पुर्व सदस्य, उपाध्यक्ष हुॅदै अहिले घुम्टे युवा परिवार जापान शाखाको सहसचिव समेत रहेका छन । युवा उद्यमी थापाले आफु परदेशमा रहेपनि गाउको विकास र प्रगतिको निम्ति कमाईको केहि अंश समाजमा सहयोग गर्दै आईरहेको बताए । घुम्टे युवा परिवारले गत चैत ३ गतेदेखि ६ गतेसम्म आयोजना गरेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको अवसरमा सिसिटिभी क्यामेरा जडान गर्ने योजना तय गरेको थियो ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराधिक कृयाकलाप न्यूनिकरण गर्ने उद्येश्यले सिसिटिभी जडान गरिएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए । यो सुरुवाती चरण भएको र निकट भविष्यमा आर्थिक व्यवस्थापन गर्न सकेमा वडा नं ७ का अन्य सार्वजनिक स्थलमा समेत यो कार्य अगाडी बढाउन सकिने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । वि.सं २०४१ सालमा स्थापना भएको जिल्लाकै पुरानो संस्था घुम्टे युवा परिवारले स्थापनाकाल देखि नै स्थानिय स्तरमा सामाजिक कार्यहरुमा सकृय रहॅदै आएको सहसचिव प्रकाश थापाले बताए ।

रोजगारीको सिलसिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्यहरु, शुभेच्छुक, संस्थाका संस्थापकहरुको सकृयतामा गत भदौमा जापानमा समेत संस्थाको शाखा विस्तार पछि सामाजिक कार्यमा थप सकृयता बढेको उपाध्यक्ष जीवन साहानीले बताए । घुम्टे युवा परिवार परिसरमा सिसिटिभी क्यामेरा सञ्चालनमा आएपछि यस क्षेत्रमा शान्ति सुरक्षामा थप टेवा पुगेको संस्थाका सदस्य भुमिराज थापाले बताए । यस क्षेत्रमा संस्थाको सकृयतामा अहिले १० वटा सिसिटिभी क्यामेरा सञ्चालनमा रहेका छन ।