धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने

  • १६ चैत्र २०७५, शनिबार
  • 1712 पटक पढिएको

म्याग्दी १६ चैत । समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्ने उद्देस्यले धार्मिक अगुवाहरुद्धारा गठित ‘अन्तरधार्मिक सञ्जाल बेनी, म्याग्दी’को आयोजनामा उपस्थित भेलाले धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने जनाएको छ । उक्त भेलामा उपस्थित धार्मिक अगुवाहरुले समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्दै मन्दिर, चर्च, गुम्वा, मस्जिद लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुगेर धार्मिक सहिष्णुता सम्वन्धि विविध कार्यक्रमहरु गर्ने निर्णय गरेका छन् ।

पत्रकार, नागरिक अगुवा, ब्यवसायी, युवा, बालक तथा विभिन्न समाजिक ब्यक्तित्वहरुसँग छलफल गर्दै उनीहरुकै सहयोग र सुझावमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । धार्मिक अगुवाहरु मार्फत् लैङ्गिक हिंसा तथा बालबालिकाहरुका समस्याहरुको न्युनिकरण गर्नु सञ्जालको मूख्य उद्देस्य रहेको सञ्जालका सदस्य रहमद खानले बताउनु भयो । विभिन्न धर्मका धार्मिक अगुवाहरु आवद्ध उक्त सञ्जाल गण्डकी प्रदेशभित्र म्याग्दी जिल्लामा मात्र गठन गरिएको सञ्जालका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले बताउनु भयो ।

उक्त भेलामा हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन, ब्रम्हकुमारी विश्व विद्यालय तथा सिविनका केन्द्रिय प्रतिनीधि कृष्ण तामाङको समेत उपस्थिति रहेको थियो । सञ्जालका अध्यक्ष कृष्णप्रसाद आचार्य ज्युको अध्यक्षतामा सम्पन्न उक्त भेलाकोे सञ्चालन सचिव लोकनाथ भुषालले गर्नुभएको थियो । बालबालिका सम्वन्धि काम गर्ने संस्था सिविन् नेपालको सहकार्यमा सञ्जालका कार्यक्रमहरु सम्पन्न हुनेछन् । सोही कार्यक्रममा भरखरै म्याग्दी सरुवा भएर आउनु भएका सिविन् नेपाल म्याग्दीका प्रमुख बसन्त ढ्ङ्गानालाई सञ्जालका अध्यक्षले खादा लगाएर स्वागत समेत गर्नुभएको थियो ।