प्रवासीको सहयोगमा काफलडाँडामा खेलमैदान निर्माण

  • १६ चैत्र २०७५, शनिबार
  • 2610 पटक पढिएको

सन्तोष गौतम
बेनी १६ चैत । रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाहरुको सहयोगमा जग्गा खरिद गरेर देवी देउराली युवा क्लवको खेलमैदान निर्माण भएको हो । करिब पाँच लाख रुपैयाँ लगानीमा ४५ मिटर लम्बाई र २० मिटर चौडाई भएको खेलमैदान निर्माण भएको क्लवका उपाध्यक्ष रेशम शर्माले जानकारी दिनुभयो ।


खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८ जना युवाहरुको तीन लाख पचास हजार रुपैयाँ सहयोगमा गत फागुनमा तीन रोपनी १४ आना जग्गा खरिद गरिएको थियो । क्लवले थप एक लाख रुपैयाँ खर्च गरेर खेलमैदान बनाएको हो । सरकारी निकायको सहयोग बिनै खेलमैदान निर्माण गरेका हुन् ।

एक्साभेटर परिचालन गरेर जग्गा सम्माउन पुख्यौली नृत्य समूहले नाचगान गरेर जुटाएको रकम उपलब्ध गराएका थिए । बाध्यताले रोजगारी र अवसरको खोजीमा विदेशिएपनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम संकलनका लागि संयोजन गर्नुभएका बालकृष्ण आचार्यले बताउनुभयो । आचार्य नेपाल फर्किएपछि खिमबहादुर पुनले कतारमा आर्थिक संकलनका लागि संयोजन गर्नुभएको थियो । खेलमैदानमा भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, फुटसल खेल सञ्चालन गर्न सकिने भएको छ । विस्तार गरेर फुटबल खेल समेत सञ्चालन गर्न सकिने बनाउने क्लवको लक्ष्य छ ।

खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको क्लवका खेलकुद अध्यक्ष लोकेश गर्बुजाले बताउनुभयो । नयाँ वर्षको अवसरमा बैशाख १ गते खेलमैदानको उद्घाटन र खेलकुद प्रतियोगिता आयोजना गरिएको गर्बुजाले बताउनुभयो । चार दिनसम्म सञ्चालन हुने सो मेलामा महिला पुरुष फुटसल, दोहोरी गित, नृत्य, तारो खेल (आर्चरी) प्रतियोगिता सञ्चालन हुने क्लवले जनाएको छ । कतारमा रहेका काफलडाँडाका युवाहरुले जटिल रोगबाट थलिएका बिरामीको उपचार र गाउँको अन्य विकास निर्माणमा सहयोग गर्दै आएका छन् ।

चिसापानीदेखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख, ताकमकी रक्तक्यान्सर पिडित फुलमाया भण्डारीको उपचारका लागि एक लाख चौध हजार, हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न बीस हजार रुपैयाँ सहयोग गरेका थिए । यसैगरी देविस्थानका सुकबहादुर विकको उपचारका लागि पन्ध्रहजार, ताकमकी मृगौला पिडित इन्द्रा खत्रीको उपचारका लागि तेह् हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि दश हजार रुपैयाँ सहयोग गरेका थिए ।