संरक्षणमा भएको ढिलाईले भुरुङ्ग–तातोपानी कटानको जोखिममा

  • १६ चैत्र २०७५, शनिबार
  • 2493 पटक पढिएको

सन्तोष गौतम
बेनी १६ चैत । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सञ्चालित कालीगण्डकी नदी नियन्त्रण योजनामा ढिलासुस्ती भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएको हो । गर्मी याम सुरुभएसँगै कालीगण्डकी नदीमा पानीको सतह बढ्न थालेपनि निर्माण व्यवसायीले नदी किनारमा पक्कि पर्खाल निर्माणमा ढिलासुस्ती गरेकाले कटानको जोखिम बढेको स्थानीयबासीले गुनासो गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का दिएका शर्मा–युनाइटेड जेभीले दुई सय मिटर भन्दा बढी पक्कि पर्खाल निर्माणमा ढिलासुस्ती गरेको छ । हालसम्म बीस प्रतिशतको हाराहारीमा मात्र नदी संरक्षणको काम भएको स्थानीयबासी प्रेम गुरुङले बताउनुभयो ।

ढिलासुस्तीका बारेमा सम्बन्धित व्यवसायी, आयोजना, जनप्रतिनिधि, प्रशासन सबैलाई जानकारी गराएपनि कामले गति लिन सकेको छैन् । ढिलासुस्तीका कारण भुरुङ तातोपानीको सिमा प्रहरी चौकी र आसपासमा रहेका १६ घर जोखिममा परेका गुरुङले बताउनुभयो ।

बर्खा अगावै नदी किनारमा पक्कि पर्खाल निर्माण गर्न नसके कालीगण्डकीले बस्तीतर्फ कटान गर्ने जोखिम छ । स्थानीयबासीको गुनासोपछि निर्माणस्थलको निरिक्षण गरेर आयोजना र सम्बन्धित व्यवसायीलाई कामको गति बढाउन निर्देशन दिएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । गत साउन अन्ततिर कालीगण्डकीमा आएको बाढीले भुरुङ तातोपानीमा सडक कटान गरेको थियो ।