सकियो ३ दिने स्वस्थ जीवन सम्बन्धी बृहतकार्यक्रम

  • १५ चैत्र २०७५, शुक्रबार
  • 2830 पटक पढिएको

सन्दीप खत्री, म्याग्दी
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशुल्क योग शिविर लगायतका कार्यक्रमको को समापन भएको छ । नसर्ने रोगहरुको दिर्घकालिन न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक नविनकिरण भुषाल जानकारी दिए ।

अभियान अन्तर्गत आयुर्वेद स्वास्थ्य शिविर, नसर्ने रोगहरूको रक्त परिक्षण (स्क्रिनिङ्ग), गाउँपालिका र नगरपालिकाका स्वास्थ्य संयोजक र आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोग, योग तथा जीवन व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

स्थानीय तहमा समेत योग मार्फत नसर्ने रोगको न्यूनिकरणका लागि प्रभावकारीता बढाउन सबै स्थानीय तहका स्वास्थ्य संयोजकहरुलाई तालिम प्रदान गरिएको थियो । बृहत निःशुल्क योग शिविरको सामाजिक विकास मन्त्री नरदेवी पुनले चैत्र १३ गते शुभारम्भ गर्नुभएको थियो ।

म्याग्दीबाट सुरु भएको अभियानलाई समग्र गण्डकी प्रदेश भरी सञ्चालन गर्ने योजना रहेको सामाजिक विकास मन्त्री नरदेवीले पुनले बताउनु भएको थियो । उहाँले आफ्नो प्रदेशका नागरिकहरुलाई योग मार्फत स्वस्थ र तन्दुरुत राख्नका लागि स्वस्थ जीवन अभियानको सूरुवात गरिएको बताउनु भयो ।


योगी विकासानन्दले ३ दिनसम्म विहान ६ बजेदेखि ८ बजेसम्म योग प्रशिक्षण दिनु भएको थियो । उहाँले जीवनशैली परिवर्तन, योग मार्फत शरिरको विकार फाल्ने उपाय लगायतका विषयमा योग मार्फत प्रशिक्षण दिनु भएको थियो । योग शिविरबाट दैनिक करिब ५०० जनाले नियमित योग अभ्यास र ३४७ जनाले नसर्ने रोगहरूको रक्त परिक्षण (स्क्रिनिङ्ग), ५२१ जनाले विशेष आयुर्वेद स्वास्थ्य शिविरबाट लाभ लिएका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बजारबासी, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, पत्रकार, विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।


वर्तमान समयमा नसर्ने रोगहरूको बढ्दो प्रतिशत जटिल चुनौतीको रुपमा रहेको हुनाले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा जीवन शैलीको व्यवस्थापनको माध्यमबाट अत्यन्तै प्रभावकारी ढंगले व्यवस्थापन गरी नसर्ने रोगहरूको प्रतिशत घटाउन सकिने कार्यक्रमका संयोजक सामाजिक विकास मन्त्रालयका नविन किरण भुषालले बताउनु भयो ।


स्वस्थ जीवन अभियान अन्तर्गत सञ्चालित कार्यक्रमहरुको शुक्रबार गण्डकी प्रदेश सरकारका प्रदेश सभा सदस्य विनोद के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो । यो अभियान प्रभावकारी रहेको र आगमी दिनमा गण्डकी प्रदेश सरकारबाट योग, आयुर्वेद, प्राकृतिक चिकित्सा प्रवद्र्धनका लागि आवश्यक प्रदेशिक नीति निर्माणमा आफुले पहल गर्ने केसीको भनाई छ ।