निर्माण व्यवसायिको कारण मोटरेवल पुल अलपत्र
- १२ चैत्र २०७५, मंगलवार
- कमल खत्री
- 3111 पटक पढिएको
बेनी, १२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखको स्वाँतखोलामा सुरु भएको मोटरेबल पुल अलपत्र परेको छ । निर्माण व्यवसायिले योजनालाई अधकल्चो बनाएका छन् । तत्कालिन जिल्ला विकास समितिले ठेक्का मार्फत वि.स २०७३ असोज ६ गते सुरु गरेको आर्क प्रबिधिको स्वाँतखोला मोटरेबल पुल सम्झौता अनुसार एक वर्ष अघिनै सकिनुपर्ने थियो ।
तर २०७४ पुष ६ गते काम सम्पन्न गर्ने गरि रु २ करोड २५ लाखमा सम्झौता गरेको निर्माण कम्पनी स्वच्छन्द गौचन जेभीले योजनालाई अधकल्चो बनाएपछि यस क्षेत्रका सरोकारवालाले निर्माण कम्पनीलाई कारबाहीको माग गरेका छन् । योजनालाई सम्पन्न गर्नको लागि निर्माण कम्पनी लामो समयदेखि कार्यक्षेत्रमा नदेखिएपछि योजना अल्पत्र पर्ने खतरा बढेको भन्दै स्थानीय अगुवा बागविर पाईजाले निर्माण कम्पनीलाई कारबाहि गर्नुपर्ने माग गर्नुभएको छ । करिब ५० मिटर लामो पुलको ढलान गरेपनि बाँकी काम हुन सकेको छैन् ।
पुलको अभावमा शिख देखि स्वाँत र किन्दु जाने आउने सवारी साधनहरु खोलाबाट वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।खोलामा बाढी आएपछि बर्खामा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा आवात जावत र ढुवानीमा समस्या भएको छ । संघियता कार्यान्वयन संगै संघ र प्रदेश सरकार कसले आयोजना सञ्चालन गर्ने भन्ने अन्यौलता समयमै टुंगो लाग्न नसक्दा यसै समस्यालाई देखाएर निर्माण कम्पनीले योजनामा ढिलासुस्ती गरेका छन् ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले दुखुखोला र शिखको स्वाँता खोला पुल योजना प्रदेश मार्फत कार्यान्वनय हुने गरि हस्तान्तरण भइसकेकाले पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिएको बताउनुभयो । यस योजनालाई वैशाख मसान्तसम्म अन्तिम म्याद थप भएकाले यो समयावधि भित्र काम गर्न निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै ताकेता गरेर निर्देशन दिईएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो ।
‘‘ गत बर्षपनि ताकेता गरेपछि मात्रै ढलान गरेको थियो, अहिलेपनि काम गर्न ढिलासुस्ती गरेको छ, म्याद थप भएको समयावधिमा काम नसके क्षतिपुर्ति सहितको कारबाहीको प्रकृया अगाडी बढाउँछौँ’’– जिसस प्रमुख केसीले भन्नुभयो ।
यता निर्माण कम्पनीका शिबसंकर गौचनले भने भौगोलिक विकटता र प्रकृयागत ढिलाईको कारण योजनाको काम रोकिएको बताउँदै आगामी असारभित्र योजनालाई सम्पन्न गर्ने लक्ष्यका साथ पुनः काम सुरु गरेको प्रतिकृया दिनुभयो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l