विप्लवका तीन कार्यकर्ता पक्राउ, विना सर्त रिहाई गर्न इञ्चार्ज श्रीसको माग

  • १२ चैत्र २०७५, मंगलवार
  • 2685 पटक पढिएको

बेनी, १२ चैत । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । सो पार्टीका जिल्ला जनसरकार संयोजक जगेन्द्र बहादुर पुन (जगत) सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले सो पार्टीको युवा संगठनका जिल्ला सदस्य मालिका गाउँपालिका–६ दरबाङका रमेश पुन र शिक्षक संगठनका जिल्ला अध्यक्ष रुम डाँडागाउँका थम बहादुर पुनलाई नियन्त्रणमा लिएको जनाएको छ ।बिगतमा जिल्लामा एनसेलका टावरमा भएको तोडफोटका घटनामा संलग्न भएको सुचनाको आधारमा उहाँहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । 

 

पक्राउ परेका तीनै जनामाथि अनुसंधान जारी रहेको प्रहरीले जनाएको छ । विना कारण घरमै बसेको अबस्थामा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीले विरोध जनाएको छ ।सो पार्टीका जिल्ला इन्चार्ज गम बहादुर श्रीष मगरले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले घरबाटै विनाकारण नियन्त्रणमा लिएकोमा पार्टीले भत्सना गर्दै विना सर्त रिहाइको माग गरेको बताउनुभयो ।