वर्ड फ्लु भित्रन नदिन म्याग्दीमा उच्च सतर्कता
- ११ चैत्र २०७५, सोमबार
- 2174 पटक पढिएको
सन्तोष गौतम
बेनी ११ चैत । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्लू म्याग्दीमा भित्र्न नदिनका लागि आवश्यक सतर्कताका उपाय अपनाउने निर्णय गरेको हो ।
केही दिन अघि कास्कीको मादी, मकवानपुर र काठमाडौमा पालिएका कुखुरामा वर्ड फ्लू रोग देखिएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा अहिलेसम्म वर्ड फ्लू नदेखिएपनि सतर्कताका लागि कुखुरा आयात रोक्ने र सिमा क्षेत्रमा निगरानी बढाउने निर्णय भएको छ ।
कुखुरापालक कृषकहरुलाई जैविक र व्यक्तिगत सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्यले म्याग्दीका सिमा नाकामा निगरानी गरिने र आन्तरिक बजारमा भेटेरिनरी सर्टीफिकेटका आधारमा स्थानीय कृषकले पालेका कुखुरा तथा अण्डाको बजारीकरणलाई सहजिकरण गर्ने निर्णय भएको बताउनुभयो ।
केन्द्रका प्राबिधिक सुवास रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर नारायण शर्माले फ्लू रोगका कारण, लक्ष्यणको बारेमा जानकारी गराउनुभएको थियो ।