नदीजन्य उत्खनन र क्रसर उद्योगलाई मापदण्ड कार्यान्वयन गराउन नगरपालिकाको चासाे

  • ११ चैत्र २०७५, सोमबार
  • 1711 पटक पढिएको

बेनी, ११ चैत । बेनी नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन कार्य र क्रसर उद्योगलाई मापदण्ड कार्यान्वन गराउन ताकेता गरेको छ । म्याग्दी नदीबाट ढुंगा बालुवा उत्खनन गर्दा मापदण्ड मिचेर अस्वभाविक तवरले नदी दोहन हुनेक्रम बढेपछि नगरपालिकाले नियमनको लागि स्थलगत अनुगमन गरेको छ ।

नगरपालिकाले गठन गरेको क्रसर उद्योग अनुगमन समितिका संयोजक एवम कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको नेतृत्वमा म्याग्दी नदीमा नदिजन्य पदार्थको उत्खननको अबस्था र बगुवाखोलामा सञ्चालित क्रसरको सोमबार अनुगमन गरिएको हो ।

बेनपा–५ बगुवाखोलामा सञ्चालित जिसी क्रसर उद्योगले राज्यको प्रावधान विपरित नदीको तिरमा उद्योग सञ्चालन गरेको र नदीको धार परिवर्तन हुने गरि नदी दोहन गरेकाले अनुगमन गरिएको संयोजक विश्वकर्माले बताउनुभयो ।
‘‘ नदि दोहनले दिर्घकालिन असर पु¥याएको छ, न्युनतम मापदण्डपनि पुरा भएको छैन, विद्यालय र समुदाय नै जोखिममा पु¥याएको छ, राज्यको दायराभित्र रहेर नदी उत्खनन र उद्योग सञ्चालन गराउन हामीले ताकेता गछौँ’’–उहाँले भन्नुभयो ।

अनुगमनको क्रममा नदीबाट उत्खनन गरिएको ठाउँमा डोजर, एक्साभेटर लगायतका उपकरण प्रयोग गर्दा खोलाको अस्वभनिय दोहन भएको देखिएकाले नगरकार्यपालिकामा यथार्त प्रतिबेदन पेश गर्ने नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो । यस अघि नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलन तथा विक्रि वितरण पक्रियाको अनुगमन गर्न जिल्ला स्तरमा गठित समितिले म्याग्दी नदीमा नदीजन्य पदार्थको उत्खननको क्रममा व्यापक कमजोरी भेटिएको प्रतिवेदन पेश गरेको छ ।

अहिले क्रसर उद्योग सञ्चालन भएको ठाउँ नजीकको नदी किनार स्थानीय व्यक्तिहरुको खेतलाई बगाएर बगर बनाएको ठाउँ भएकाले यसलाई नगरपालिकाले हस्तक्षप गर्न नहुने जग्गाधनीहरुको माग छ । जग्गा धनिहरुले नै यहाँ नदिजन्य पदार्थ उत्खनन गरि विक्रि गर्न पाउनुपर्ने स्थानीय श्याम बानियाँले बताउनुभयो । नगरपालिकाले व्यक्तिको लालपुर्जा भएको ठाउँमा समेत हस्तक्षप गरि केही भागमा ठेक्का लगाउने, आफ्नो जग्गामा समेत नदीजन्य पदार्थ उत्खनन्मा हस्तक्षप गर्न खोजेको क्रसका सञ्चालक नारायण जिसीले बताउनुभयो ।

उहाँले आफुले सरकारी जग्गामा नदीजन्य पदार्थ उत्खनन नगरेको बताउँदै स्थानीयलाई रोजगारि र आम्दानीको अवसर सिर्जना गरेको उद्योगलाई बन्द गराउने नियतले केही व्यक्तिहरूले  व्यक्तिगत इगाे लिएर आफुमाथि आरोप लगाएको बताउनुभयो । राज्यको स्विकृती लिएर सञ्चालन भएको उद्योगलाई नियतबस विवादमा ल्याउने प्रयत्न गरिएको क्रसर उद्योग सञ्चालकको भनाई छ ।