सिंगामा सिँचाई आयोजना निर्माण सुरु
- ८ चैत्र २०७५, शुक्रबार
- सन्ताेष गाैतम
- 2635 पटक पढिएको
बेनी ८ चैत । व्यवसायिक खेतीको विकासका लागि बेनी नगरपालिकाको एउटै वडामा पाँच वटा सिँचाई आयोजना निर्माण सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाई सुबिधा विस्तारका लागि बेनी नगरपालिका–४ सिंगामा लिफ्ट र पोखरी प्रबिधिका पाँच वटा सिँचाई आयोजना निर्माण सुरु भएको हो ।
खाद्यबाली, तरकारी र फलफुल उत्पादन वृद्धी गर्न म्याग्दी नदीमा बगेर खेर गैरहेको पानी तानेर खेतीयोग्य जमिनमा सिँचाई गर्न लागिएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिएका थिए । ‘खेतीयोग्य जमिन बाँझो बस्ने समस्या न्युनीकरण गरी रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन सिँचाई पूर्वाधार तयार पार्न लागिएको हो’ वडा अध्यक्ष पौडेलले भने ‘चालू आर्थिक वर्षमा नगरपालिकाबाट बिनियोजित चालीस लाख रुपैयाँबाट पाँच वटा सिचाई आयोजना निर्माण सुरु भएको छ ।’
चार वटा लिफ्ट प्रबिधिको सहित पाँच वटा सिचाई आयोजना निर्माण सुरु भएको हो । सुर्केमेलामा दश लाख, सिंगाको कुना तालमा नौ लाख, ठूलोखोलामा तीन लाख र तातोपानीमा पाँच लाख रुपैयाँ बिनियोजन भएको छ । यी चार आयोजना लिफ्ट प्रबिधिका हुन् । सुर्केमेलामा म्याग्दी नदी किनारमा पानी संकलन गर्ने इनार खन्ने र विद्युतीय उपकरण राख्ने घर बनिसकेको छ । सुर्केमेला र कुनातालको सिचाई आयोजनाको इनारमा राख्ने गोलो रिङ तयार भएको छ । कुनातालमा केही दिनमा इनार खन्न सुरु गरिने उपभोक्ता समितिले जनाएको छ ।
विद्युतीय उपकरणको प्रयोग गरेर म्याग्दी नदीको पानीलाई तानेर खेतमा बाह्ै महिना सिचाई सुबिधा उपलब्ध गराइने कुनाताल लिफ्ट सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज पौडेलले बताएका थिए ।
बास्कुनामा पाँच वर्षदेखि अधुरो तीन हजार लिटर क्षमताको पोखरी निर्माणलाई पनि पूर्णता दिन लागिएको छ । सुन्तलाको पकेट क्षेत्र बास्कुनामा सिँचाई सुबिधाका लागि २०७१ मा पोखरी निर्माण सुरु भएको थियो । नगरपालिकाबाट पाँच लाख र संघीय सांसद भुपेन्द्र थापाको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट पाँच लाख रुपैयाँ बिनियोजन भएपछि पूर्णता दिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भिम थापाले बताए । पोखरीलाई पूर्णता दिन स्थानीय लालबहादुर केसीले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
पाँच वर्षअघि बेनी नगरपालिकाको पाँच लाख, वन कार्यालयको ४५ हजार, भुसंरक्षण कार्यालयको पचास हजार र थामडाँडा सामुदायिक वन उपभोक्ता समूहको ५० हजार सहित विभिन्न निकायको १२ लाख रुपैयाँ सहयोगमा पोखरी खनिएको थियो । १७ मिटर लम्बाई, ८ मिटर चौडाई र दुई मिटर गहिराई भएको पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ । अबको एक महिनाभित्र प्रयोगमा ल्याउने तयारी गरिएको यो पोखरीबाट बास्कुनाका ४१ घरधुरी लाभान्वित हुने स्थानीय शेरबहादुर केसीले बताए । ‘कृषकको पाँच सय रोपनी भन्दा बढी सुन्तला बगैचामा सिँचाई सुबिधा पुग्छ,’ केसीले भने ‘छहरेखोलाको पानी पोखरीमा संकलन गरेर बगैचाँमा सिँचाई गर्न लागिएको हो ।’ आठ हजार बोट सुन्तलाका बिरुवा छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तरगत सिंगाकै थामडाँडामा पनि अर्को पोखरी बनाइएका छ । सिंगा खाद्यबाली, तरकारी र फलफुल खेतीका हिसाबले सम्भावना बोकेको ठाउँ हो । सिचाई तथा जलस्रोत विकास डिभिजन कार्यालयले पनि बास्कुना, थामडाँडा र सुर्केमेलाका लागि बालमखोला सिचाई आयोजना कार्यान्वयनको तयारी गरेको छ । सिचाईको अभावका कारण समस्यामा परेका कृषकहरुलाई लिफ्ट, नहर र पोखरी निर्माणपछि राहत मिल्ने अपेक्षा गरिएको छ ।