घारमा वडा कार्यालय निर्माण
- ७ चैत्र २०७५, बिहीबार
- 2481 पटक पढिएको
बेनी ७ चैत । अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ । तत्कालीन शान्ति तथा पूनःनिर्माण मन्त्रालयले जिल्ला प्राबिधिक कार्यालय मार्फत आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र बनेको थियो ।
गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर भवन निर्माण कार्यलाई पूर्णता दिइएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । १ वटा सभाहल सहित ५ वटा कोठा भएको एक तले भवनलाई पूर्णता दिन गाउँपालिकाले चालू आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
‘तत्कालीन शान्ति मन्त्रालय र प्राबिधिक कार्यालयले कति खर्चे गरेको भन्ने जानकारी छैन,’ वडा अध्यक्ष बरुवालले भन्नुभयो ‘मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र परेको भवनलाई पूर्णता दिएर वडा कार्यालय सञ्चालनको तयारी गरेका छौ ।’ विसं २०७३ असार ३० गते भगवती मालिका कन्ट्रक्सनसँग ३८ लाख ५० जार ८१८ रुपैयाँमा ठेक्का सम्झौता भएको भवनको जग बसालेर वरिपरि पर्खाल लगाउने काम गरिएपनि पहिलो तलाको ढलान समेत भएको थिएन् ।
गाउँपालिकाको सहयोगमा ढलाल, अधुरो पर्खाल निर्माण, रंगरोगन, फर्नीचर, विद्युत, पानी जडान लगायतका काम गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवध्वज खड्काले बताउनुभयो । वडा कार्यालय भवन योजनालाई अन्नपूर्ण गाउँपालिकाले घारको गौरवको योजना मानेको छ ।
साँघुरो र पुरानो भवनबाट सञ्चालन भइरहेको वडा कार्यालय बिहीबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिने वडा अध्यक्ष बरुवालले बताउनुभयो । यसअघि वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालयसमेत सञ्चालनमा थियो ।
साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या थियो । घारमा बनेको वडा कार्यालय भवन स्थानीय तहले म्याग्दीमा पहिलो पटक पालिका र वडाका लागि बनाएको संरचना हो । तत्कालीन शान्ती मन्त्रालयको सहयोगमा अन्नपूर्ण गाउँपालिकाकै वडा नं ७ को साविक हिस्तान गाविस भवन, धवलागिरि गाउँपालिका–७ ताकमको वडा कार्यालय भवनसमेत अलपत्र परेका छन् ।
ताकमको वडा भवनका लागि जग खन्नेमात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तानको भवन निर्माण योजनाको काम अहिलेसम्म सुरु भएको छैन् । ठेकेदारले अधकल्चो बनाएर छाडेको अन्नपूर्ण गाउँपालिका–५ शिखको साविक गाविस भवन अझै पनि गाउँपालिकाले बजेट व्ययवस्थापन गरेर पूर्णता दिन लागिएको वडा अध्यक्ष दिनेश तिलिजाले बताउनुभयो ।