विद्यालयलाई जग्गा दान

  • ५ चैत्र २०७५, मंगलवार
  • 1845 पटक पढिएको

सेते तिलीजा

शिख ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई स्थानीयबासीले बीस रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका छन् । विद्यालयको भवन र खेलमैदान लगायत पूर्वाधार निर्माणका लागि स्थानीय नौ जनाले यसअघिनै उपलब्ध गराएको जग्गा आधिकारिक रुपमा विद्यालयको नाममा रजिस्ट्रेशन गरिएको छ ।  

पेशबहादुर पाइजाले छ रोपनी १ आना, डिलबहादुर पुनले पाँच रोपनी नौ आना, भाईसिरी पाईजाले चार रोपनी तीन आना, प्रेमबहादुर पाइजाले छ रोपनी तीन आना उपलब्ध गराएका छन् ।यसैगरी दलबहादुर पाईजाले ४० नम्बर कित्ताको सबै जग्गा उपलब्ध गराएका छन् । नौमती राना, चमानसिङ राना र हिमलाल फगामीले पनि जग्गा दान गर्नुभएको विद्यालयले जनाएको छ ।

जग्गादाताहरुलाई वडा अध्यक्ष दिनेशकुमार तिलीजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजा, पूर्व अध्यक्ष बागबिर पाईजा, प्रअ केदार कार्की, बलबहादुर तिलीजा, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कृष्णबहादुर पाईजाले सम्मान गरेका थिए ।मालपोत कार्यालय म्याग्दीका नायव सुब्बा नारायण रिमालको उपस्थितीमा स्थलगत रुपमा जग्गा रिजस्टे«सन सेवा दिइएको थियो । दाताहरु मध्य अधिकांशले निशूल्क र केहीले सुपथ मूल्यमा जग्गा उपलब्ध गराउनुभएको प्रअ कार्कीले बताए ।