मराङको ठूलो खोलामा झोलुङ्गे पुल निर्माण सुरु
- ५ चैत्र २०७५, मंगलवार
- 2011 पटक पढिएको
तेजिन्द्र पुन
मराङ ५ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बेशी स्थित ठूलोखोलामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । टिबीएसयुको प्राबिधिक सहयोगमा धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत झोलुङ्गे पुल निर्माण सुरु गरेको हो ।
५६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समितिले जग खन्ने काम सुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताए । पुल निर्माणका लागि गाउँपालिकाले तीस लाख रुपैयाँ बिनियोजन गरेको र टिबिएसयुले लठ्ठा, बुल्डअफ ग्रिप लगायत निर्माण सामग्री उपलब्ध गराउने जनाइएको छ ।
आगामी असार भित्रनै पुल निर्माण गरिसक्ने उपभोक्ता समितिका अध्यक्ष चक्र पुनले जानकारी दिनुभयो । गैरसरकारी संस्था मिलन म्याग्दीले समुदाय परिचालनको सम्झौता गरेको छ । २०५ भदौ २४ गते राती ठूलो खोलामा आएको बाढीले मराङको बेशी देखि मल्कवाङ, कुईने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको थियो ।
कटानका कारण जोखिममा परेको बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि नदी नियन्त्रण योजनाका लागि पनि बजेट बिनियोजन भएको छ ।