सरकार र सिके राउत बिचको वार्ता सकरात्मक, जनमत संग्रह हुन सक्दैन : सभापति देउवा (भिडियो सहित)

  • २६ फाल्गुन २०७५, आईतवार
  • 1911 पटक पढिएको

बेनी, २६ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकरात्मक रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समुहलाई मुलुकको अखण्डतालाई स्विकार गरि शान्तिपूर्ण बाटोबाट मुलधारमा ल्याउनुु राम्रो पक्ष रहेको बताउनुभयो ।

उहाँले सरकार र राउत समुह बिच भएको सहमतीपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत संग्रहको रुपमा स्विकार गर्न भने नसकिने बताउनुभयो । ‘‘ मैले सरकारले सहमती गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भुभागको बिषयमा जनमत संग्रह हुन सक्दैन’’– उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले सरकारले प्रष्ट पार्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेता देउवाले आफुले पार्टीमा कसैको अधिकार नखोसेको बताउनुभयो । पार्टीको विधान अनुसार नै आफु चलेको बताउँदै उहाँले पार्टीमा आन्तरिक प्रतिस्पर्धाको लागि सबैलाई खुला रहेको समेत बताउनुभयो । ‘‘ पार्टीमा चुनाब लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म संधै तयार छु,’’–उहाँले भन्नुभयो ।

नेविसंघभित्रको उमेरहद र निर्वाचनको विवाद संगठनभित्रको आन्तरिक विवाद रहेको बताउँदै उहाँले विद्यान अनुसार नै संघलाई अघि बढाईने बताउनुभयो । वाईडबडी भष्ट्राचारमा तत्कालिन सरकारको नेतृत्व आफुले गरेको भएपनि मन्त्रालय आफुसंग नजोडिएकाले आफुलाई केही जानकारी नभएको प्रतिकृया दिनुभयो । नेपालका बहुसंख्यक नागरिक हिन्दु रहेको बताउँदै उहाँले देशमा अन्य नागरिकहरुले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दु राज्य घोषणा गर्न सम्भवन नहुने बताउनभुयो ।

युनियनका सभापती राकेश शर्माको अध्यक्षता, कोषाध्यक्ष सुरेन गुरुङको स्वागत र सचिब साधन राम्जालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।