धवलागिरी गाउँपालिकाको महिला दिवस बालबिवाह न्युनीकरणमा केन्द्रित
- २५ फाल्गुन २०७५, शनिबार
- 1927 पटक पढिएको
गोपाल आचार्य
ताकम २५ फागुन । धवलागिरी गाउँपालिकाले १०९ औ अन्तराष्ट्रिय महिला दिवस प्रमुख सामाजिक समस्याको रुपमा रहेको बालबिवाह र महिला हिंसा न्युनीकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाएको छ । गाउँपालिकाको समन्वयमा वडा कार्यालय, विद्यालय, गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना, युवा कल्व, आमा समूह र महिला सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो ।
गाउँपालिका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यतामा २ नम्बर वडा लमसुङमा बालबिवाह र लैङगिक हिंसा न्युनीकरण सम्बन्धि प्रशिक्षण तथा खेलकुद र सांस्कृतिक कार्यक्रम भएको थियो । अध्यक्ष पुनले महिला दिवसको पृष्ठभुमि, वर्तमान अवस्था, समस्या, अवसर र चुनौतिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँले महिलाहरु आफ्नो अधिकार प्राप्तीका लागि अग्रसर र जागरुक बन्नुपर्ने बताउनुभयो । कार्यपालिका सदस्य सुवा पुर्जाको अध्यक्षता, सामाजिक परिचालक रविना पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष गमबहादुर बिक, लमसुङ माविका प्रअ तुलसीनाथ सुवेदी लगायतले बालबिवाह न्युनीकरणमा जोड दिनुभयो ।
यसैगरी वडा न. ७ ताकममा वडा स्तरीय महिला सञ्जालको आयोजनामा बालबिवाह र लैङगिक हिंसा न्युनीकरण सम्बन्धि हाँजिरी जवाफ प्रतियोगिता भएको छ । मुना, मुदी, खिवाङ, मराङमा पनि सोही विषयमा हाजिरी जवाफ प्रतियोगिता भएको जनाइएको छ ।
ताकममा सञ्जालकी अध्यक्ष धना केसीको अध्यक्षता, वडा सदस्य अमृता भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष रेशम छन्त्यालले सानै उमेरमा बिवाह गर्ने समस्याका कारण महिलाको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्यमा असर परेकाले यसलाई न्युनीकरणका लागि अभिभावक र समाजको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
उपाध्यक्ष छन्त्यालले गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि अभियान चलाएको र यसमा सरोकारवालाहरुले साथ दिनुपर्ने बताउनुभयो ।