मालिका जोड्ने सडक निर्माण सुरु

  • २३ फाल्गुन २०७५, बिहीबार
  • 2121 पटक पढिएको

सन्तोष गौतम

बिम २३ फागुन । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु भएको छ । मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुदै मालिका जोड्ने सडक आयोजना सुरु गरेको हो ।गाउँपालिकाले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत सडकको ट्याक खोल्ने काम सुरु गरिएको वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिए । गत वर्ष बिनियोजन भएको आठ लाख रुपैयाँबाट बाइन्दफाँट देखि करिब दुई किलोमिटर माथि बिम्वाङ पु¥याइएको थियो । यस वर्ष बिम्बाङको काउलेदेखि ६ किलोमिटर दुरीमा रहेको धौलागंगा भन्ने ठाउँसम्म सडक पु¥याउने लक्ष्य छ । हालसम्म एक किलोमिटर ट्याक खुलेको छ ।

अबको तीन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य सहित ट्याक खोल्ने काम भैरहेको उपभोक्ता समितिले जनाएको छ । पहिलो चरणमै सात मिटर फराकिलो र प्राबिधिकको सिफारीस अनुसार ग्रेड मिलाएर सडक खनिएको छ । हिमपात, भौगोलिक विकटता र बस्ति देखि टाढाको जंगलमा सडक निर्माण गर्न समितिका पदाधीकारी पालो गरेर जंगलमै बास बसेका छन् ।उपभोक्ता समितिले प्रतिस्पर्धा मार्पmत प्रति घण्टा चार हजार पाँच सय रुपैयाँ भाडा तिर्ने गरी एक्साभेटर भाडामा लिएको जनाएको छ । मालिकामा आन्तरिक पर्यटक र भक्तजन भित्र्याउने उद्देश्यले सडक निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । सडकले यातायात सुबिधा सहज भएर भक्तजनहरु सजिलैसँग मालिका जान आउन सक्ने अध्यक्ष रोकाले विश्वास छ ।

ढिगो र प्रभावकारी बनाउन प्राविधिक अध्ययनबाट तयार पारिएको डिपिआर अनुसार वातावरण र भुगोल अनुकुलको सडक बनाउन लागिएको अध्यक्ष रोकाले बताउनुभयो । सडक पुग्ने ठाउँदेखि मालिका धुरीसम्म जोड्ने पदमार्ग र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको छ । मन्दिर परिसरको साँघुरो ठाउँलाई पर्खाल लगाएर फराकिलो बनाउने योजना छ । खानेपानीको ब्यवस्थापन, नियमित आपूती गराउने, पदमार्गलाई ब्यवस्थित गर्ने र सार्वजनिक शौचालय निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको जनाएको छ ।

हाल बिम, बाईन्दफाँट, ठाडाखानी, हिदी, दुखु, टोड्के भएर पैदलमार्गबाट मालिका पुग्न सकिन्छ । मालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृष्य अवलोकनको संगम हो । मालिका गाउँपालिकाको ७ र ६ तथा रघुगंगा गाउँपालिका ६ को सिमानामा समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित मालिका पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको छ ।

२० भन्दा बढी हिमशृङखला, सुर्योदय, म्याग्दीका ४५ मध्य गुर्जा बाहेकका ४४ वटा वडा, लालीगुराँस, वन्यजन्तु, पंक्षीहरुको अवलोकन गर्न सकिन्छ । सहज पदमार्ग, आवास, खानेपानी लगायत सुबिधाको अभावका साथै प्रचारप्रसारको कामीले मालिकामा पर्यटक भित्रन सकेका छैनन् । मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायत २० भन्दा बढी हिमशृङखला, सुर्योदय, म्याग्दीका अधिकांश बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

बेनी देखि सवारी साधन मार्फत एकै दिन र पैदलयात्रा गर्दा दुई दिनमा पुगीने मालिका क्षेत्रको जंगलमा पाईने वन्यजन्तु, पंक्षी, विभिन्न प्रजातीका फुल, जडिवुटी र वन पैदावार थप आकर्षण हो । चण्डी पूर्णीमा, जेष्ठि पूर्णीमा, भाईटिका र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने मालिकाको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।
मालिका, कालिका र जाल्पादेवीको मुिर्त रहेको मालिका मन्दिरमा भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका ठाउँबाट वर्षको चार दिन

पुजाआजाका लागि आएका भक्तजनको चहलपहल हुने मालिका अन्य समय सुनसान हुन्छ ।
मालिकालाई केन्द्र बनाएर बेनी–जगन्नाथ–टोड्के–मालिका–धौलागिरी आधार शिविर जोड्ने पदमार्ग सञ्चालन गर्न पहल भईरहेको वडा अध्यक्ष जुग्जालीले बताए । वडा अध्यक्ष जुग्जालीले दरवाङ देखि खारा बिम बाइन्दफाँट जोड्ने सडकको स्तरोन्नतिको तयारी भएको जानकारी दिए ।