राम्चेमा अतिथी गृह

  • २३ फाल्गुन २०७५, बिहीबार
  • 1682 पटक पढिएको

सन्तोष गौतम ।

म्याग्दी, २३ फागनु । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुबिधाका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा महिलाहरुको अगुवाइमा अतिथी गृह सञ्चालन भएको छ ।राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अतिथी गृह सञ्चालन गरेको हो ।

 


बीस लाख रुपैयाँमा निर्माण भएको भवनमा गाउँमा भित्र्ने पाहुनाहरुलाई बसोबासको व्यवस्था मिलाइएको आमा समूहकी अध्यक्ष कमला पुनले बताइन् ।‘पर्यटकको आवास सुबिधाका साथै गाउँमा आयोजना हुने भोज र अन्य कार्यक्रमका लागि पनि यो भवनलाई प्रयोग गछौ’, अध्यक्ष पुनले भनिन् ‘होमस्टेको अवधारणा अनुसार पाहुनाघर सञ्चालन गरिएको हो ।’

दुई तले भवनको माथिल्लो तलामा २० जना बास बस्न सक्ने क्षमत्ताको ७ वटा कोठा छन् । तल्लो तलामा डाईनीङ, भान्छा कोठा र तालीम हल बनाइएको छ । पर्यटकीय गाउँ राम्चे अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय र कर्बाकेली पदमार्गमा समेटिएको छ ।

‘पाहुनाघरको आम्दानी समूहको कोषमा राखेर महिलाहरुको आयआर्जन र सामाजिक गतिबिधिमा परिचालन गर्छौ’, समूहकी सदस्य देवी गर्बुजाले बताइन् । होटल तथा लजको सुबिधा नभएको राम्चे भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई अतिथिगृह सञ्चालन भएपछि बास बस्न व्यक्तिका घर खोज्नु नपर्ने भएको छ ।

भवन निर्माणका लागि तत्कालीन जिविसले छ लाख पाँच हजार २८२ र राम्चे गाविसले सात लाख ५२ हजार ४०० रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । २०७२ मा सुरु भएको भवन निर्माण कार्य हालै सकिएको हो ।

भवन बनाउन छवीलाल गर्बुजा, पीमबहादर गर्बुजा र हेमबहादुर गर्बुजाले जग्गा उपलब्ध गराएका थिए । जिविस र गाविसको अनुदानका अलावा स्थानीयबासी, देश र विदेशमा रहेका राम्चेबासीहरुबाट चन्दा संकलन गरेर भवनलाई पूर्णता दिइएको निर्माण समितिका संयोजक माया पुर्जाले बताइन् ।

सामुदायिक वन समूहले चालीस हजार रुपैयाँ बराबरको काठ उपलब्ध गराएको थियो । राम्चे स्वास्थ्य चौकीसँगै आमा समूहको पनि भवन उद्घाटन गरिएको हो ।