शान्तिकोषको अक्षयकोषका लागि कृष्णबहादुर पुर्जाद्धारा दुई लाख सहयोग

  • २३ फाल्गुन २०७५, बिहीबार
  • 1487 पटक पढिएको


म्याग्दी २३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि कृृष्णबहादुर पुर्जाले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । पर्वतको जलजला गाउँपालिका– १ बासखर्कमा घर भई रोजगारको शिलशिलामा हङकङमा बस्दै आएका मोना हङकङका साधारण सदस्य रहेको पुर्जाले ओमकुमारी शान्ति कोषका लागि २ लाख सहयोग घोषणा गर्नुभएको छ ।
सो सहयोगसंगै पुर्जा शान्ति कोषको संरक्षक सदस्य बनेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङकोे २० औ वार्षिकोत्सवको अवसरमा आयोजित ओमकुमारी शान्ति कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा चालीस लाख रुपैयाँ बढी सहयोगको प्रतिवद्धता घोषणा भएको थियो ।
कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएर बिरामी र आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १०१ जना म्याग्देलीहरुलाई एक करोड ८२ लाख रुपैयाँ सहयोग जुटाएको छ । हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो ।
मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ ।