मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

  • २२ फाल्गुन २०७५, बुधबार
  • 2401 पटक पढिएको

सन्तोष गौतम
बेनी २२ फागुन । म्याग्दीको बेनी–दरवाङ सडक अन्तरगत दुखु खोलामा मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीले यात्रुलाई सास्ती भएको छ । प्राबिधिक त्रुटी, सम्बद्ध कार्यालयको प्रक्रियागत ढिलासुस्ती र निर्माण व्यवसायीको लापरवाहीका कारण मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलामा आठ वर्षअघि सुरु भएको पुल निर्माण कार्य अझै सकिएको छैन् ।

तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा सुरु भएको मोटरेबल पुल डिजाईन गलत भएपछि असफल बनेको थियो । पुरानो ठेक्का रद्द गरेर जिविस र प्राबिधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरे । २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते दुई करोड २५ लाख ६० हजार ८२३ रुपैयाँमा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भयो ।

२०७४ कात्तिकमा सक्ने सम्झौता भएपनि अहिलेसम्म दुई तर्फको पिल्लर मात्र ठडाएको छ । गत मंसिरदेखि निर्माण व्यवसायीले काम गरेका छैनन् । पुलको मुख्य भागको काम सुरुनै भएको छैन् । पुल निर्माणमा ढिलाई हुँदा सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य भएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

बेनी–दरवाङ मंगला, मालिका, धवलागिरी र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । ‘हिउँदमा खोलाबाटै सवारी साधन तरेपनि बर्खामा बाढी आउँदा सवारी आवत जावत ठप्प हुन्छ’, अध्यक्ष रोकाले भन्नुभयो ‘वेवास्ता र ढिलासुस्तीका कारण पुल निबन्दा यातायात र ढुवानीमा सास्ती भएको छ ।’

स्वच्छन्द–गौचन जेभीले ठेक्का सम्झौता गरेपनि काम भने बेनीको श्रमजिवी निर्माण कम्पनीका प्रकाश बानियाले गर्दै आउनुभएको छ । संघीयबाट प्रदेश सरकारमा हस्तान्तरण भएको यो पुलका लागि बजेट व्यवस्थापन र अख्तियारी आउन भएको ढिलाइका कारण निर्माण कार्य प्रभावित भएको बानियाले दावी गनुभयो ।

भौगोलिक प्रतिकुलताले पनि पुल निर्माणमा ढिलाई भएको बानियाको भनाई छ । जग खन्ने क्रममा कहिले बाढी त कहिले पहिरो खसेर पुरिएर दुख पाएको उहाँले बताउनुभयो । बजेटको व्यवस्थापन भएमा पुल निर्माणमा कुनै असर नपर्ने उहाँको दावी छ । काम गरेको बिलको भुक्तानी समेत नपाएको बानियाको भनाई छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले दुखु र स्वाँता खेला पुल योजना हस्तान्तरण भइसकेको बताउनुभयो । पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिएको उहाँको भनाई छ ।

प्रदेश सरकारले बजेटको अख्तियारी दिएपनि ढिलासुस्ती भएकाले पूर्वाधार कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । पछिल्लो पटक आगामी बैशाख मसान्तसम्म सम्झौताको म्याद थप भएको छ ।