आगोले जलेकी बालिकाको उपचारमा समस्या

  • २२ फाल्गुन २०७५, बुधबार
  • 3450 पटक पढिएको

सन्तोष गौतम
बेनी १९ फागुन । आगोले जरेर घाइते भएकी म्याग्दीकी एक बालिकाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ । धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि आर्थिक अभाव भएको हो । हजुरआमा बिसमती बिकका अनुसार गत माघ १५ गते घरको चुल्होको आगो कपडामा सल्कीएर इच्छाको दुवै खुट्टा जलेका थिए ।

एक महिनासम्म बेनी अस्पतालमा राखेर उपचार गरेपनि निको नभएपछि पाँच दिनअघि उनलाई पोखरा लगिएको हो । ‘बेनीमा उपचार हुुन नसक्ने भएर पोखरा पठाउनुभएको छ’, जलनले भन्नुभयो ‘चिकित्सकले आगोले जलेको भागको छाला फेर्नका लागि कम्तीमा साढे दुई लाख रुपैयाँ जुटाउन भनेका छन् ।’

सदरमुकाम बेनीसँगै रहेको जलजला गाउँपालिकाको लामाखेतमा बस्दै आएका दृष्टिबिहीन दम्पतिको आयस्रोत र घरको कमजोर अवस्थाका कारण उपचारमा समस्या भएको हो । बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालनको तयारी गरिएको दलित अगुवा मनबहादुर चर्माकारले बताउनुभयो ।