दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण (फोटो फिचर)

  • २० फाल्गुन २०७५, सोमबार
  • सन्ताेष गाैतम
  • 1602 पटक पढिएको

सन्तोष गौतम,
दोसल्ले २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण भएको छ । महिलाहरुले नाचगान गरेर जुटाएको पैसाले पदमार्ग बनाएका हुन् ।  जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरी ढुङ्गाको सिढी सहितको पदमार्ग बनाएका हुन् । डेढ मिटर चौडाई भएको ५०० मिटर पदमार्ग निर्माणमा नौ लाख ६३ हजार ८७० रुपैयाँ खर्च भएको समूहकी मायादेवी पाइजाले बताउनुभयो ।

गाउँपालिकाले एक लाख ९८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको पदमार्ग बनाउन आमा समूहको कोषमा रहेको तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप तीन लाख ६० हजार ४४० रुपैयाँ जुटाइएको छ । ४३ घरधुरीले ४६ हजार ५०० रुपैयाँ बराबरको श्रमदान गरेका छन् । गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, बिवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बताउनुभयो ।

उनिहरुले यसअघि पनि आमा समूहले तिप्ल्याङ देखि दोसल्लेसम्म दुई किलोमिटर भन्दा बढी घोरेटो बाटो बनाएका थिए । सिढी सहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लीएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ । बालबालिका र वृद्धबृद्धा पनि सजिलै हिड्डुल गर्न पाएका छन् ।  पदमार्ग निर्माणमा सहयोग गर्नेहरुलाई सोमबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, छिमेकी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष गमबहादुर फगामी लगायतको उपस्थितीमा सम्मान गरिएको थियो ।

राज्यले दिएको थोरै रकमलाई परिचालन गरेर दोसल्लेका दिदिबहिनीहरुले धेरै गुणा बढी काम गरेर उदाहरण देखाएको गाउँपालिकाका अध्यक्ष पुनले बनाउनुभयो । उपाध्यक्ष मगर र रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले विकासका लागि बजेटको सहि परिचालन, जनसहभागिता र समुदायको सक्रियता आवश्यक पर्ने सन्देश दोसल्लेबासीले दिएको बताउनुभयो ।


स्थानीय निलप्रकाश पुनको अध्यक्षता, ओमबहादुर पाइजाको सञ्चालन र धनबहादुर पुर्जाको स्वागतमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष फगामी, हर्कबहादुर पुन, मेजर चन्द्रबहादुर पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । स्थानीयबासीहरुले दोसल्लेको विद्युत, सडक समस्या र सुन्तला खेतीको प्रर्वद्धनमा सघाउन गाउँपालिकालाई आग्रह गरेका थिए ।

उत्तरी म्याग्दीको सामाजिक अभियान्ता स्वर्गीय मेजर टेकबहादुर पुनको शिवरात्रीकै दिन दोसल्लेमा हत्या भएको स्मरणमा उहाँको स्मृतिमा सामुदायिक भवन निर्माण गर्नुपर्ने आवाज पनि कार्यक्रममा सहभागिले उठाएका थिए ।

सन्ताेष गाैतम