गलेश्वरमा शसस्त्र प्रहरीद्धारा हेलीप्याड निर्माण (फोटो फिचर)

  • २० फाल्गुन २०७५, सोमबार
  • कमल खत्री
  • 1817 पटक पढिएको

कमल खत्री
बेनी २० फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हेलिप्याड निर्माण गरिएको छ । अत्याबश्यक समयमा उद्धार र राहतमा हेलीकप्टर अवतरणको लागि गलेश्वर स्थित सशस्त्र प्रहरीको गुल्मले हेलीप्याड निर्माण गरेको हो । गलेश्वर बहुउदेश्यीय बाटीका परिसरमा ४ दिन सम्म १३ जना सशस्त्र प्रहरी जवानहरुले श्रमदान गरेर हेलीप्याड निर्माण गरेको गुल्मका निमित्त प्रमुख इन्सपेक्टर काजी लामाले जानकारी दिनुभयो । पहिले खेलकुद मैदानको स्टेज रहेको ठाउँलाई सम्माएर ढलान गरेर एच आकारको हेलीप्याड निर्माण गरिएको हो ।

हेलिप्याड निर्माणमा आबश्यक पर्ने सिमेण्ट लगायतको सामाग्री गलेश्वर शिवालय क्षेत्रविकास कोषले उपलब्ध गराएको थियो । जिल्ला सुरक्षा समितिको ‘एक वडा एक हेलिप्याड’ निर्माण गर्ने अभियान अन्र्तगत गलेश्वरमा हेलिप्याड निर्माण भएपछि आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

म्याग्दीको विभिन्न १४ ठाउँमा हेलिप्याड निर्माण भएको प्रअिज अधिकारीले बताउनुभयो । गलेश्वर शिवालय क्षेत्रमा हेलिकप्टर मार्फत आउने अति विशिष्ट अतिथिहरुलाई समेत हेलिप्याडले सहज हुने अपेक्षा गरिएको छ । बेनपा–९को वडा कार्यालयले नेप्टेचौर क्षेत्रमा समेत अर्को हेलिप्याड निर्माणको लागि जिल्ला सुरक्षा समितिलाई आग्रह गरेको छ ।

गलेश्वर स्थित सशस्त्र प्रहरीको अगुवाईमा निर्माण भएको हेलिप्याडको जिल्ला सुरक्षा समितिका प्रमुख एवम् प्रजिअ अधिकारी सहित, गण्डकी प्रदेश सभाका साँसद विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरिासिनी लगायतले स्थलगत अवलोकन समेत गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको ७ वटै वडामा हेलिप्याड निर्माण भैसकेको छ ।

त्यसैगरि ‘एक वडा एक हेलीप्याड’ अभियान अन्र्तगत अहिलेस्म्म मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकामा २÷२ स्थानमा हेलिप्याड निर्माण भएको छ । अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्म परिसरमा रहेको हेलीप्याडलाई स्तरोन्नती गरि जिल्लामै पहिलो रात्रीकालिन अवतरणयुक्त ‘नाईट ल्याण्डीङ्ग’ हेलीप्याड बनाईएको छ ।

शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले हेलिप्याड निर्माणमा श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकटता रहेकाले आकस्मिक बिरामी, दुर्घटना, प्राकृतिक पकोप र विपदको समयमा उद्धार तथा राहतको कामलाई सहज बनाउन म्याग्दीमा हेलिप्याड बनाउने अभियान थालिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l