नगरपालिकाले बेनी बजार संरक्षण उपभोक्तालाई सचेत गरायो

  • १७ फाल्गुन २०७५, शुक्रबार
  • 2199 पटक पढिएको

बेनी १७ फागुन । बेनी बजार संरक्षणको बाहनामा कालीगण्डकी नदी किनारका ढुङ्गा जथाभावी निकालिएको गुनासो बढेपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकिकृत संरक्षण समिति मार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको भन्दै बजारबासीले बिरोध जनाएका थिए ।

बजारबासीको गुनासो अनुगमनका क्रममा पुष्टि भएपछि उपभोक्ता समितिका पदाधीकारीहरुलाई नगरपालिकामा बोलाएर जथाभावी ढुङ्गा ननिकाल्न र उपकरण प्रयोग नगर्न सचेत बनाएको नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । रुपाताल संरक्षण समितिले पुरानो पर्खाल संरक्षण र गत भदौको बाढीले बगाएको ठाउँमा ग्यावियन पर्खाल निर्माणका लागि चार वटा उपभोक्ता समिति मार्फत काम गरेको छ । उपभोक्ता समितिले बिना प्रतिस्पर्धा सिमिति व्यवसायीको उपकरण प्रयोग गरेको, उपभोक्ता परिचालन गरेर गर्नुपर्ने काम घुमाउरो शैलीमा ठेक्कामा लगाएको, ग्यावीयन जालीमा चलखेल गरेको बजारबासीले गुनासो गरेका छन् ।

उपभोक्ता समितिको अदृष्य चलखेलका कारण गुणस्तरीय काम नहुने, ढिलासुस्ती र संरक्षणको नाममा बिनाश हुन सक्नेतर्फ बजारबासीको गुनासो बढ्न थालेको छ । चार वटा मध्य ८ नम्बर वडाको एउटा उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्यले साना ढुङ्गा पर्खाल लगाउन प्रयोग गरेको र बजारबासीले गरेको आशंका सत्य नभएको प्रतिक्रिया दिनुभयो ।

म्याग्दीबेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्यावियन पर्खाल लगाइने भएको छ । बेनी बजार संरक्षणका लागि चालू आर्थिक बर्षमा तीन करोड पचास लाख रुपैयाँ बिनियोजन भएपनि कुन उपभोक्ता समितिसँग कति बजेटमा सम्झौता भएको हो भन्ने बारेमा कार्यालय र समिति दुवैले सार्वजनिक गरेका छैनन् ।