सानालेखमा युवाहरुको नेतृत्वमा निर्मित भवनको उद्घाटन, शिवरात्री मेला सुरु (फोटो फिचर)

  • १७ फाल्गुन २०७५, शुक्रबार
  • कमल खत्री
  • 2494 पटक पढिएको

कमल खत्री
म्याग्दी १७ फागुन ।  म्याग्दीको बेनी नगरपालिका–२ सानालेख ज्यामरुकोटमा युवाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग र स्थानीयबासी एवम् प्रवासमा रहेका सानालेखबासीको नगद एवम श्रमदान मार्फत निर्मित भवनको उद्घाटन गरिएको छ ।  महाशिवरात्री पर्वको अवसरमा स्थानीय लेकसाईड युवा क्लबले आयोजना गरेको खेलकुद एवम विविध साँस्कृतिक मेलाको अवसरमा शुक्रवार सो भवनको उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले युवाहरु विकासको सम्वाहक रहेको बताउँदै समाज रुपान्तरणमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले क्लबको अगुवाईमा सामुदायिक भवन, खेलमैदान निर्माण हुनुले अन्य ठाउँका युवाहरुलाई समेत सामाजिक कार्यमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

साँसद केसीले बेनी हुँदै लभ्लीहिल, ज्यामरुकोट हुँदै बागलुङ्गको पञ्चकोटलाई धार्मिक र पर्यटकीय मार्गको रुपमा जोड्नको लागि स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत एकिकृत रुपमा पहल हुनुपर्नेमा जोड दिनुभयो ।  बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५०० अनुदानमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीले चन्दा संकलन र श्रमदान गरि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न मिल्ने स्टेज सहितको भवन निर्माण गरेका हुन् । भवन निर्माणमा साढे ६ लाख बढी खर्च भएको क्लबले जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले मौलिक कला संस्कृति र खेलकुद प्रतिभाको पहिचान गर्ने उदेश्यले आयोजित मेलालाई मर्यादित बनाउन सुझाब दिनुभयो ।  कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र वडा नम्बर २ का अध्यक्ष हिरा बहादुर थापाले ज्यामरुकोट क्षेत्रको सडक, खानेपानी, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा अत्याबश्यक योजनाहरुको लागि नगरपालिका मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

मेलामा भलिबल लगायतका खेलकुद प्रतियोगिता संगै लोपउन्मुख बनेको मौलिक संस्कृति रत्यौली प्रतियोगिता समेत आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा ज्येष्ठ नागरिक भिमप्रसाद सापकोटा र भद्रकली सुवेदीलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा क्लबलाई आर्थिक एवम विभिन्न जिम्मेवारीमा रहेर सहयोग गर्ने सहयोग दाताहरुलाई समेत सम्मान गरिएको थियो भने विविध साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l