आगलागीबाट नागीमा १४ वटा बाख्रा मरे, साढे १ लाख बढीको क्षती

  • १६ फाल्गुन २०७५, बिहीबार
  • 2242 पटक पढिएको

पुर्ख फगामी
राम्चे १६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट एक किसानले साढे १ लाख बढीको आर्थिक क्षती व्यहोरेका छन् । स्थानीय कृषक आईती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रा सहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षती भएको हो ।

हिमपातको कारण कठ्यांग्रीएका गाई र बाख्रालाई न्यानो बनाउन बुधवार साँझ बालिएको आगो हावा हुरीले नजीकै रहेको सुकेको घाँस र सेउलामा सल्कन गई आगलागी भएको हो । अगलागीमा परेर ४ वटा बाख्रा, २ वटा बोका र ८ वटा पाठापाठी जलेर मरेको पिडित परिवारले जनाएको छ ।

आगलागीबाट करिब रु ४० हजार बराबरको काठ सहित २० हजार बढी खर्चिएर बनाईएको खोर पूर्ण रुपमा जलेको छ । आगलागी लगत्तै  स्थनीयबासीले आगाे नियन्त्रणमा लिने प्रयास गरेपनि एउटा गाइलाइ मात्रै गाेठ बाहिर ल्याउन सफल भएका थिए ।