गण्डकी प्रदेशस्तरीय सूचना प्रविधि मेला पोखरामा हुने

  • १४ फाल्गुन २०७५, मंगलवार
  • 2353 पटक पढिएको

म्याग्दी, १४ फागुन ।  फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय सूचना प्रविधिको बृहत मेला ‘क्यान इन्फोटेक’ हुने भएको छ । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) कास्की शाखाको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सो मेलाको तयारीलाई तिब्र पारिएको छ । सूचना प्रविधि सम्बन्धि विविध गतिविधि हुने सो मेलाको प्रचार प्रसारको क्रममा म्याग्दीको बेनीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले सूचना प्रविधिको विकास, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिनुभयो ।

मेलामा सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी हुने क्यान गण्डकी प्रदेश समितिका अध्यक्ष चिन्तामणी बास्तोलाले बताउनुभयो । त्यसैगरि सो मेलामा सुचना प्रविधिसंग सम्बन्धित नविनतम गतिविधि प्रदर्शनी,मोवाईल गेमिङ,नविनतम प्रविधिका मोवाईलको समेत प्रदशनी हुनेछ ।  मेलामा १ सय बढी सुचना प्रविधि सम्बन्धि स्टलहरु रहने आयोजकले जनाएको छ ।

मेलालाई सफल बनाउन क्यान कास्कीका अध्यक्ष पौडेलको संयोजकत्वमा विभिन्न २६ वटा उपसमिति समेत गठन गरिएको क्यान कास्कीका इश्वर चालिसेले जानकारी दिनुभयो । इन्फोटेककै अवसरमा दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको छ । मेलामा रु २४ लाखको आम्दानी र रु २१ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम सूचना प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने साथै सामाजिक क्षेत्रमा योगदान पु¥याइने अध्यक्ष पौडेलले बताउनुभयो ।

क्यान कास्कीका अध्यक्ष पौडेलको अध्यक्षता, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको शुभकामना मन्तव्य, क्यान म्याग्दी शाखाका अध्यक्ष बामदेव रिजालको स्वागत र सुनिल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो मेलाकै समयमा नयाँ बजारमा सातौँ सिटि रवान महोत्सव तथा फुड फेष्टीवल समेत सञ्चालनमा रहनेछ ।