फेसबुक बन्याे बिहे गर्ने माध्ययम, बागलुङे युवकले गरे पाकिस्तानी युवतीसँग बिहे

  • १३ फाल्गुन २०७५, सोमबार
  • 3186 पटक पढिएको

बागलुङ  १३   फागुन । सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे । 

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गर्नुभएको हो । दुई वर्ष अघि देखि चिनजान भएपछि उहाँले नेपाली भाषा सिक्न थाल्नुभएको थियो । नेपालको ग्रामीण बासिन्दा झैँ बोल्न र लेख्नसक्ने भएपछि उहाँले विवाहका लागि तयारी गर्नुभएको थियोे । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत जानुभएको थियो ।

केटीका तर्फबाट भने अभिभावक नभए पनि उहाँले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर आउनुभएको थियो । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताउनुभयो । मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार याे विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताउनुभयो ।

‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भन्नुभयो, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।” कानुनी रुपमा बलियो बनेर उनीहरुले गरेकाे औपचारिक विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताउनुभयो । मुस्लिम बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गर्नुभयो । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । रासस उज्यालाे अनलाइनबाट साभार