पूँजिगत बजेट खर्च निराशाजनक

  • १३ फाल्गुन २०७५, सोमबार
  • सन्तोष गौतम
  • 1334 पटक पढिएको

 

बेनी १३ फागुन ः म्याग्दी स्थित प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहहरुमा चालू आर्थिक वर्ष २०७५÷७६ मा बिनियोजन भएको पूजिँगत बजेट खर्चको अवस्था निराशाजनक छ ।गण्डकी प्रदेश अन्तरगत म्याग्दीमा रहेका ८ वटा कार्यालयहरुले पूँजिगततर्फ बिनियोजन भएको मध्य १२.३४ प्रतिशत बजेट खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

छ वटा स्थानीय तह मध्य धेरैले खर्चको फाँटबारी समेत नबनाएकाले विवरण सार्वजनिकनै गरेका छैनन् । प्रदेशका कार्यालयहरुमा ६० करोड नौ लाख १५ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा माघ मसान्तसम्म सात करोड ४२ लाख ५ हजार ६२२ रुपैयाँ खर्च भएको कोलेनिकाका सूचना अधिकारी विकास पौडेलले जानकारी दिए ।

कोलेनिकाका अनुसार प्रदेशका कार्यालयहरुमा चालू तर्फ बिनियोजन भएको १८ करोड ८६ लाख ८२ हजार रुपैयाँ मध्य हालसम्म चार करोड ५५ लाख १४ हजार ३८६ रुपैयाँ मात्र खर्च भएको छ । जिल्लामा पूजीगततर्फ सबैभन्दा धेरै बजेट बिनियोजन भएको पूर्वाधार विकास कार्यालयको पूजिगततर्फ ५२ करोड ४४ लाख ६६ हजार रुपैयाँ मध्य सात महिनाको अवधिमा सात करोड २७ लाख ४४ हजार ९४७ रुपैयाँ खर्च भएको छ ।

संघीय सरकार मातहतका २४ वटा कार्यालयमा पूँजिगततर्फ १७ करोड ८८ लाख ३६ हजार रुपैयाँ बजेट आएकोमा आठ करोड पाँच लाख आठ हजार ९५९ रुपैयाँ खर्च गरेका छन् । यो ४५ प्रतिशत भन्दा बढी हुन आउँछ । पुँजीगततर्फ १६ करोड २३ लाख १३ हजार रुपैयाँ बिनियोजन गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले सात महिनाको अवधिमा २८ प्रतिशत बजेट खर्च भएको जानकारी दिएका थिए ।

करिब ३४ करोड रुपैयाँ कुल बजेट रहेको धवलागिरी गाउँपालिकाकाले कुलमा २८ प्रतिशत र पूजिगततर्फ १३ प्रतिशत बजेट खर्च भएको जनाएको छ । पूर्वाधार तर्फको १२० वटा योजनाहरु मध्य ४५ वटा सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

प्रदेशका कार्यालय स्थापना र अख्तियारी आउन ढिलाई हुँदा पूँजिगत बजेट खर्च न्युन भएको कोष तथा लेखा नियन्त्रक शेखरचन्द्र सापकोटाले बताए । दरबन्दि अनुसारका जनशक्तिको अभाव र कर्मचारी समायोजनको अन्यौलताले पनि बजेट परिचालनमा ढिलासुस्ती देखिएको छ ।

सन्तोष गौतम