सुन्तला बिक्रीबाट भकिम्लीको राखु गाउँमा रु २५ लाख भित्रियो

  • ३ फाल्गुन २०७५, शुक्रबार
  • 2145 पटक पढिएको

म्याग्दी, ३ फागुन ।  म्याग्दीको एक गाउँमा सुन्तला विक्रिबाट लाखौँ भित्रिएको छ । बेनी नगरपालिका– ३ भकिम्ली राखु गाउँमा सुन्तला विक्रि गरेर रु २५ लाख भित्रिएको हो । गाउँमा उत्पादन भएको सुन्तला पोखरा, काठमाण्डौ लगायतका ठाउँमा निर्यात गरि कृषकहरुले सो रकम आम्दानी गरेको स्थानीय कृषक मनकुमारी पुनले बताईन् ।

बेनपा–३ की वडा सदस्य समेत रहनुभएकी पुनका अनुसार, कृषकहरुले प्रतिकिलो रु ५० का दरले सुन्तला विक्रि गरेका हुन् । राखुमा रहेका ६० घरधुरी मध्ये अधिकाँशले पछिल्लो समय सुन्तला खेति सुरु गरेका छन् । उत्पादन राम्रो हुने, बजारको अभाब नहुने र आम्दानी समेत आकर्षक हुने भएपछि राखुका कृषकहरु सुन्तला खेतीतर्फ आर्कषित भएका हुन् ।

अघिल्लो बर्ष रु २८ लाखको सुन्तला निर्यात भएको राखुमा यो बर्ष उत्पादनमा केही गिरावट आएको कारण आम्दानी समेत घटेको कृषकहरुको भनाई छ । सडक सञ्जालले जोडिएपछि सवारी साधन हुँदै सुन्तला ढुवानीमा सहज भएकाले कृषकहरुले अन्य खेति गर्दै आएको खेतबारीमा सुन्तला रोप्ने अभियान चलाएका छन् । भकिम्लीको मरेक, पानिस्वाँरा, जिमिरे, तोराखेत लगायतका ठाउँमा समेत व्यवसायिक सुन्तला खेती हुने गरेको वडा अध्यक्ष पदम पुनले जानकारी दिए ।