मराङमा घुम्ति शिविर सञ्चालन हुने

  • २ फाल्गुन २०७५, बिहीबार
  • 1459 पटक पढिएको

बेनी २ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा आगामी शनिबार एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागेको हो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङका बासिन्दालाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो ।

स्थानीय तहसँगको समन्वयमा यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकता वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता, स्वास्थ्य, पशु सेवा, योजना सम्झौता लगायतका सेवा दिइएको छ ।

शिविरका क्रममा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको वडामै योजना सम्झौता समेत गरिने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।