बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

  • २ फाल्गुन २०७५, बिहीबार
  • 2747 पटक पढिएको

सन्तोष गौतम
बेनी २ फागुन । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनी देखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुनेगरि समय तालिका बनाएको हो ।

सडक विस्तार कार्यका लागि तीन वटा समय तालिका बनाइएको मालढुङ्गा–बेनी सडक आयोजनाको निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारी साधन रोकेर सडक विस्तार गर्ने समयतालिका बनाइएको छ ।

म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाडौ लगायत देशका विभिन्न स्थानका लागि छुट्ने र भित्र्ने सवारी साधनहरु प्रभावित भएका छन् ।

बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ–मालढुङ्गाको बैकल्पिक सडक प्रयोग गर्न सकिने विकल्प रहेको छ ।

सडक डिभिजन कार्यालय बागलुङले लामाखेत देखि वारिबेनी सम्मको एक किलोमिटर १०० दुरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सञ्चालन गरेको छ ।