बावियाचौरमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित

  • २४ माघ २०७५, बिहीबार
  • 2800 पटक पढिएको

म्याग्दी, २४ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जना लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परिक्षण गरिएको हो ।


शिविरबाट ३ जना विद्यार्थीहरुको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा रिफर गरीएको र एक हप्ता भित्रमा पावरवाला चस्मा निशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिनुभयो । म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले औजार हस्तान्तरण गरि शिविरको उद्घाटन गर्नुभएको थियो ।


उहाँले शिविरले विद्यालय स्तरका बालबालिकामा आँखा सम्बन्धी सम्भावित समस्या पहिचान र समयमै उपचार हुने वातावरण सिर्जना गरेको भन्दै आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, आँखा उपचार केन्द्रका प्राविधिक बानियाँ लगायतले मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानध्यापक गमबहादुर खत्रीले स्वागत र कार्यक्रम संयाेजक श्यामशुन्दर कँडेलकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे म्याग्दी जेसीजका महासचिब सन्दिप खत्रीले जानकारि दिनुभयाे ।