न्यु वेष्ट पोइन्टमा खेलाडी सम्मान

  • २३ माघ २०७५, बुधबार
  • 3058 पटक पढिएको

बेनी, २३ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल कबड्डी र मार्शल आर्ट्स तर्फका ७० जना खेलाडीहरु, टिम म्यानेजर र खेल शिक्षकलाई सम्मान गरेको हो ।

माघ १८ देखि २० सम्म सदरमुकाम बेनी बजारमा सम्पन्न नगरपालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ प्रथम, छात्र छात्रा भलिबल तर्फ द्वितीय, छात्र कबड्डी तर्फ द्वितीय, तेक्वान्दो र कराते तर्फ द्वितीय र उशु तर्फ तृतीय स्थान प्राप्त गर्दै कुल १० स्वर्ण, १३ रजत र १२ कास्य गरि कुल ३५ पदक प्राप्त गर्दै समग्रमा द्वितीय स्थान हासिल गरेको हो । प्रतियोगितामा वेष्ट पोइन्टका तेजिन घर्ति सबैभन्दा धेरै ३ स्वर्ण १ कास्य गरि ४ पदक जित्दै बेष्ट एथ्लेट्स र बेष्ट प्ल्येर घोषित हुँदै ६ हजार र ट्रफी प्राप्त गरेका छन् ।

यस बर्षपनि प्रथम हुने विश्वासका साथ सहभागी भएको विद्यालयले मार्शल आर्ट्स तर्फ राम्रो प्रदर्शन गर्न नसक्दा चुकेको खेल शिक्षक दिपेन राइले बताउनु भयो । अन्य विधामा भने आफ्नो लयलाई कायमै राखेको उहाँले बताउनुभयो । कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालि अन्तर्गत अतिरिक्त विभागका संयोजक हरिकृष्ण श्रेष्ठले पदक बिजेता लगायत सम्पूर्ण सहभागी खेलाडी, प्रशिक्षक, टिम म्यानेजर, अभिभाबक, शुभचिन्तक सबै प्रति आभार प्रकट गर्नु भएको छ ।

उहाँले ट्रयाक तर्फका खेलमा हिट्स र फाइनल प्रतियोगिता एकै दिनमा भएकोले पनि खेलाडीहरुले भने जस्तो प्रदर्शन गर्न नसकेको हुनसक्ने बताउनु भयो । तर यस पटक भलिबल र कबड्डीमा फाईनलमा पुग्न सफल हुनु भनेको धेरै गौरवको कुरा भएको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण खेलाडी विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १२ का छात्रा सजनी थापाले सम्पूर्ण साथीहरुलाई आगामी खेलमा पक्कै पनि प्रथम हुने दृढ बिस्वास र तयारीका साथ सहाभागी हुने बताउनु भयो । विद्यालयले यस भन्दा अघि बिरेन्द्र शिल््ड, जिल्लास्तरीय खेलकुद र ४ पटक सम्म रास्ट्रपति रनिङ्ग शिल्ड गरि ६ पटक जिल्ला स्तरिय प्रतियोगिता जितिसकेको छ ।

सम्मान कार्यक्रममा फाउन्डेसनका संस्थापक निर्देशकहरु सुबासकुमार श्रेष्ठ, यज्जनलाल शाक्य, शिव कुमार श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । फाउन्देसनका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठको अध्यक्षता, भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा कार्यक्रम सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।