ओखरबोटमा खानेपानी आयोजना निर्माण

  • २२ माघ २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2930 पटक पढिएको

सन्तोष गौतम
बेनी, २२ माघ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा डिल्लीखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ ।

गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत आयोजना निर्माण भएको हो । आयोजनाको मंगलबार तेस्रो अनुगमन तथा सामाजिक परिक्षणका साथै उद्घाटन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले आयोजनाको उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष रोका र उपाध्यक्ष खरमाया बिटालुले दुर्गम गाउँका बासिन्दाको सुबिधाका लागि खानेपानी आयोजना निर्माणमा प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्ष दिलीपकुमार शेरचन, परियोजनाको खानेपानी तथा सरसफाई विज्ञ चन्द्रभक्त बिष्ट, गाउँपालिकाको अनुगमन समितिका सदस्य तथा वडा न. १ निस्कोटका वडा अध्यक्ष टंक पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

ओखरबोट माविका शिक्षक नविन पुनको सञ्चालन, उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रसाइलीको अध्यक्षता, यामबहादुर पुनको स्वागतमा भएको कार्यक्रममा भिमबहादुर घर्तीले आर्थिक तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कूल ५३ लाख ७३ हजार २४६ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट ओखरबोटका ४० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको छ ।

आयोजना निर्माणका लागि नेपाल सरकारले २१ लाख ३२ हजार १०४, गाउँपालिकाले पाँच लाख ३२ हजार ३२४ र फिनल्याड सरकारले ११ लाख ९९ हजार ३०८ रुपैयाँ अनुदान सहयोग गरेको थियो । उपभोक्ताहरुले १४ लाख ५० हजार ७७६ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

सन्तोष गौतम