दुर्लभ दानवीर : चन्द्रकुमार केसीको कलेजो दानले नयाँ जिवन पाउँदै सियाना (भिडियो रिपोर्ट सहित)

  • १९ माघ २०७५, शनिबार
  • 2898 पटक पढिएको

म्याग्दी, १९ माघ । मृत्युसंग लडिरहेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिनाकी बालिका सियाना रन्तीजाको जिवन बचाउन म्याग्दीका एक समाजसेवदीले कलेजो दान गरेका छन् । कलेजोको समस्याबाट थलिएकी बालिकाको जिवनरक्षाको लागि समाजसेवी चन्द्रकुमार केसीले कानुनी प्रकृया पुरा गरि कलेजो दान गरि सामाजिक कार्य र दानको अभिलेखमा ‘दुर्लभ दानवीर’ को नाम लेखाएका हुन् ।

म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहेका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जिवन बचाउन आफ्नो कलेजोको केही अंश दान गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताए । शुक्रबार भारतको सर गंगाराम अस्पतालमा सियानालाइ केसीले दान गर्नुभएको कलेजो प्रत्यारोपण गरिएको छ । आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच नभएको र आर्थिक अभाबको कारण उनको उपचार अनिश्चित बनेको थियो । 

सियानालाई बचाउन केसीले कलेजो दिन तयार भएपछि आबश्यक स्वास्थ्य परिक्षण र कानुनी प्रकृया पुरा गरि केसीले कलेजो दान गरेका हुन् । करिब १५ घण्टा लामो अप्रेशन पश्चात केसीको कलेजोको ३० प्रतिशत अंश निकालेर सियानालाई पत्यारोपण गरिएको छ । ‘ उहाँले मानवीय सेवा र दानवीरहरुको अभिलेखमा आज एउटा दुर्लभ साहस गर्नुभयो, विरामी सियाना र दानवीर केसीको सुस्वास्थ्यको कामना गर्दछौँ’’–उनले भने ।

अहिले दुबै जनाको आईसियुमा उपचार भैरहेको छ । पटक–पटक अस्पतालमा डाक्टरहरुको चेकजाँच तथा नेपाल र भारत सरकारको कानुनी प्रक्रिया पुरा गरी केसीको कलेजो प्रत्यारोपण गरिएको कोषले जनाएको छ । आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित भएकाहरुको लागि स्वदेश तथा विदेशमा रहेका सहयोगदाताहरुबाट सहयोग जुटाएर उपचार गराउँदै आएको कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीको कलेजो दानको अहिले चौतर्फी प्रसंसा भैरहेको छ ।


               सामाजिक अभियन्ता केसी
कलेजो दान गर्ने महादानवीर केसी जिल्लामा शिक्षा क्षेत्रमा निकै अग्रसर छन् । विविध कारण अध्ययनबाट बञ्चित भएका महिलाहरुको शिक्षाको लागि उनकै पहलमा बेनीमा उज्यालो बैकल्पिक विद्यालय सञ्चालनमा आएको छ । बेनी अस्पताल विकास समितिको अध्यक्ष समेत भैसकेका केसीले बेनी अस्पतालको गुणस्तर सुधारमा धेरै रचनात्मक पहल गरेका थिए । पोखरा काठमाण्ठौ लगायतका अस्पतालमा उपचारको लागि जानुपर्ने बाध्यतालाई अन्त्य गर्र्न अस्पतालमै स्रोत र साधनको बन्दोबस्त मिलाएर गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने श्रेय केसीलाई जान्छ । बेनीको माउण्ट एभरेष्ट आवासीय माविका अध्यक्ष समेत रहेका केसी लायन्स क्लव अफ नेपालमा समेत आबद्ध रहेर विभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल छन् ।
              आर्थिक सहयोगको आह्वान
सियानाको जिवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहरुको पहलमा रु ३० लाख आर्थिक संकलन भएको थियो । कलेजो पत्योरोपण अघि उपचारमा रु १२ लाख खर्च भैसकेको थियो भने अहिले पत्यारोपणको लागि मात्रै १७ लाख बढी भारु आबश्यक पर्ने भएकाले थप सहयोगको लागि कोषले सबैलाई सक्दो सहयोग गर्न आह्वान गरेको छ । जन्म भएको ४ महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई मणिपाल, टिचिङ हुँदै दिल्ली सम्म पु¥याएर रोगको पहिचान गरिएको थियो । उपचार पश्चात समेत लामो समयसम्म भारतमै बसेर चिकित्सकहरुको निगरानीमा उपचार गर्नुपर्ने भएकाले सियानाको सहयोगार्थ आर्थिक सहयोग गर्न आह्वान गरिएको कोषका सदस्य सन्दिप खत्रीले बताए ।
                                यसरी स्थापना भयो शान्ति कोष
बेनी नगरपालिका–४ की हाईपोप्लाष्टिक एनिमिया रोगबाट पीडित ओमकुमारी पुन (शान्ती)को उपचारमा सहयोग जुटाउन कलेजो दान गर्ने चन्द्र कुमार केसीको संयोजकत्वमा ‘शान्ति पुन बचाउ’ अभियान सञ्चालन गरिएको थियो । स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरु मार्फत लाखौँ संकलन गरि पुनको उपचार समेत गरिएको थियो । दुर्भाग्यबस पुनको उपचार पश्चात निधन भयो । पुनको उपचारमा संकलन भएर बाँकी रहेको रकमलाई आर्थिक अभाबमा कसैको पनि मृत्युबरण नहोस भन्ने उदेश्यले ‘‘दिन जान्यो–बाँच्न जान्यो’ भन्ने नाराका साथ ओमकुमारी शान्ति कोषको स्थापना भएको थियो ।

पुनको निधन भएपछि उनैको नाममा स्थापना गरिएको कोषबाट अहिले म्याग्दीमा आर्थिक रुपमा विपन्नताको कारण विभिन्न रोगबाट पिडित भएकाहरुको उपचारमा सहयोग जुटाउने गरिएको छ । कोषमार्फत अहिलेसम्म विभिन्न रोगबाट थलिएका १ सय १० जना विरामीको उपचारमा सहयोग गरिसकिएको कोषका सचिब लोकेश पुन मगरले बताए । अहिले कोषले रु २ करोडको अक्षयकोष स्थापनाको लागि समेत अभियान चलाएको छ । कोषले दैवि प्रकोप र आपतविपतको समयमा समेत राहत सहयोग गर्दै आएको छ ।