प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान

  • १९ माघ २०७५, शनिबार
  • 2690 पटक पढिएको

सन्तोष गौतम
मिलनचोक १९ माघ । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।


मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले जडान गरेको सिसिटिभी क्यामेरा मार्फत अस्थाई प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने भएको छ । सिसिटिभी र पावर ब्याकअप खरिद तथा जडानका लागि जलजला गाउँपालिका ६ ठोट्नेरीमा जन्मिएका पुनले एक लाख चालीस हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले बताउनुभयो ।

सिसिटभी क्यामेराको शनिबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो । अध्यक्ष मल्लले सहयोगदातालाई धन्यवाद दिदै गाउँपालिकाको बजार क्षेत्रको सुरक्षाका लागि थप सिसिटिभी क्यामेरा जडानको आवश्यकता महशुस गरिएको बताउँदै अपराध, विकृती, दुर्घटन न्युनीकरणका लागि समुदाय, स्थानीय सरकार र समुदायबीच सहकार्यमा जोड दिनुभयो ।

जलजला गाउँपालिका ७ का वडा अध्यक्ष टुङ्गनाथ शर्माले वडा पालिकाले थप एक वटा सिसिटिभी क्यामेरा जडान गर्न लागेको बताउनुभयो । जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले बस्ती विकास र सहरीकरण तिब्ररुपमा भइरहेको मिलनचोक र मोहनचोकमा थप सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो ।

मिलनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता, ओमप्रकाश शर्माको सञ्चालन र जमुना आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिबिकास जिसीले सिसिटिभी क्यामेराको दिगो सञ्चालन र मर्मत सम्भारका लागि गाउँपालिकाबाट सहयोग गरिने बताउनुभयो । सहयोगदाता पुन तिर्थदेवी र अमरसीङ चोचाङ्गीका छोरा तथा तिर्खजित चोचाङ्गीका नाति हुनुहुन्छ ।