दुर्लभ दान : म्याग्दीका चन्द्रकुमार केसीद्धारा ९ महिनाकी सियानालाई कलेजो दान

  • १९ माघ २०७५, शनिबार
  • 3350 पटक पढिएको

कमल खत्री

बेनी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जिवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गर्नुभएको छ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहनुभएका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जिवन बचाउन आफ्नो कलोजोको केही अंश दान गर्नुभएको हो ।


शुक्रबार भारतको सर गंगालाल अस्पतालमा रन्तिजालाई केसीले दान गर्नुभएको कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच नभएको र आर्थिक अभाबको कारण उपचार अनिश्चित बनिरहेको सन्दर्भमा केसीले कानुनी प्रकृया पुरा गरि कलेजो दान गर्नुभएको अध्यक्ष शाक्यले बताउनुभयो । ‘मानवीय सेवा र दानवीरहरुको अभिलेखमा आज एउटा दुर्लभ साहस उहाँले गर्नुभएको छ, कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भुमिका प्रसंसनिय छ, विरामी सियाना र दानवीर केसीको सुस्वास्थ्यको कामना गर्दछौँ’’–उहाँले भन्नुभयो ।

सियानालाई बचाउन कलेजो दान गर्ने केसीको करिब ३० प्रतिशत कलेजो निकालेर पत्यारोपण गरिएको जनाईएको छ । अहिले दुबै जनाको आईसियुमा उपचार भैरहेको छ । प्रत्यारोपण गरिएपछि विरामी र कलेजो दान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भैरहेको छ । पटक पटक अस्पतालमा डाक्टरहरुको चेकजाँच तथा नेपाली तथा भारत सरकारको कानुनी प्रक्रिया पुरा गरी केसीको कलेजो प्रत्यारोपण गरिएको कोषले जनाएको छ । आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित भएकाहरुको लागि स्वदेश तथा विदेशमा रहेका सहयोगदाताहरुबाट सहयोग जुटाएर उपचार गराउँदै आएको कोषको संस्थापक अध्यक्ष समेत रहेका केसीको कलेजो दानको अहिले चौतर्फी प्रसंसा भैरहेको छ ।

। कलेजो दान गर्ने महादानवीर केसी जिल्लामा शिक्षा क्षेत्रमा निकै अग्रसर हुनुहुन्छ । विविध कारण अध्ययनबाट बञ्चित भएका महिलाहरुको लागि उहाँकै पहलमा बेनीमा उज्यालो बैकल्पिक विद्यालय सञ्चालनमा आएको छ । बेनी अस्पताल विकास समितिको अध्यक्ष समेत भैसक्नुभएका केसीले बेनी अस्पतालको गुणस्तर सुधारमा धेरै रचनात्मक पहल गर्नुभएको थियो । बेनीको माउण्ट एभरेष्ट आवासीय माविका अध्यक्ष समेत रहेका केसी लायन्स क्लव अफ नेपालमा समेत आबद्ध रहेर विभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल हुनुहुन्छ ।

सियानाको जिवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहरुको पहलमा रु ३० लाख आर्थिक संकलन भएको थियो । कलेजो पत्योरोपण अघि उपचारमा रु १२ लाख खर्च भैसकेको थियो भने अहिले पत्यारोपणको लागि मात्रै १७ लाख बढी भारु आबश्यक पर्ने भएकाले थप सहयोगको लागि कोषले सबैलाई सक्दो सहयोग गर्न आह्वान गरेको छ । जन्म भएको ४ महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई मणिपाल, टिचिङ हुँदै दिल्ली सम्म पु¥याएर रोगको पहिचान गरिएको थियो ।