भकिम्लीको डोलेमा हेहिप्याड

  • १६ माघ २०७५, बुधबार
  • 3478 पटक पढिएको

बेनी, १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो ।

वडा कार्यालयको सिफारिस र समन्वयमा शसस्त्र प्रहरी बलको गलेश्वर बेस क्याम्पका प्रहरी निरिक्षक काजी लामाको नेतृत्वमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयबासीहरुले हेलीप्याड बनाएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक अनिल कार्कीले जानकारी दिनुभयो ।

बेनी नगरकार्यपालिकाको माघ ४ गतेको बैठकले आवश्यक स्थानमा हेलिप्याड बनाउने निर्णय गरेको थियो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तिहरुमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगोलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलीप्याड निर्माण अभियान चलाइएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो ।

यसअघि मालिका गाउँपालिकाको सबै वडा र मंगलाको कुहुँ र हिदीमा हेलिप्याड निर्माण भइसकेको छ ।