मल्कबाङमा एकै घरका छ भाई भलिबल खेल्न मैदान उत्रिएपछि …….
- १४ माघ २०७५, सोमबार
- 11596 पटक पढिएको
म्याग्दी, १४ माघ । सुन्दा अचम्म लाग्न सक्छ ! भलिबल खेलको एक टिममा एकै घरका छ दाजुभाई खेलेको सुन्दा । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङमा एकै घरका दाजु भाई भलिबल प्रतियोगितामा मैदान उत्रिएका छन् ।
हालै आयोजित दरखोला मेलामा मल्कबाङका थर्कमान र टुकमायाँ छन्त्याल दम्पतीका ६ भाई छोराहरुले भलिबल प्रतियोगितामा भाग लिएका हुन् ।
छन्त्याल दम्पतीका चार दाजुभाई संगै दुई भाई जुम्लील्याह र एक छोरी छन् । पहिलो पटक एकै घरका ६ दाजुभाई मैदान उत्रिएपछि मेलामा उपस्थित दर्शकहरु उत्साहीत बनेका थिए । सम्भवत एकैघरका दाजु भाईको भलिबल टिम बनेर प्रतियोगितामा सहभागीता जनाएको यो नेपालकै पहिलो घटना हुनसक्छ ।
सो प्रतियोगिता एकै घरका छ दाजुभाईहरु तिल बहादुर, कुल बहादुर, चन्द्र, घबिन्द्र (जालु) , नारायण, निर्मल ( राम लक्षु) छन्त्यालले सहभागीता जनाएका थिए । ६ भाई छोराहरुको टिमलाई हौँसला दिन मैदानमा पुगेका बुबा थर्कमानले एउटै समुह बनेर प्रतियोगितामा भाग लिँदा आफुलाई हर्षबढाउ भएको प्रतिक्रिया दिनुभयो ।