अपडेट : मालढुङ्गामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पूग्यो

  • ३ माघ २०७५, बिहीबार
  • 5468 पटक पढिएको

म्याग्दी, ३ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि नारायणगढतर्फ जाँदै गरेको यात्रुबहाक बस पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


ग १ ख ६१०८ नम्वरको बस आज विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु भएकाहरुको नाम ठेगाना भने खुल्न सकेको छैन । दुर्घटनामा ३४ जना घाईते भएका छन् । घाईते मध्ये गभीर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ । चार जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

अन्यको बागलुङमै उपचार भैरहेको प्रहरीले जनाएको छ । साघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै १५० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो ।

विहान सबा ७ बजे बेनीबाट नारायणघाटको लागि प्रस्थान गरेको यात्रुबहाक बस दुर्घटनामा परेपछि म्याग्दी, पर्वत र बागलुङका सुरक्षाकर्मी सहित स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए ।