बेनीमा विपद् व्यवस्थापनको पूर्वअभ्यास गरेर भूकम्प सुरक्षा दिवस मनाइयो
- २ माघ २०७५, बुधबार
- 1961 पटक पढिएको
सन्तोष गौतम
बेनी २ माघ । २१ औ भूकम्प सुरक्षा दिवस बुधबार बेनीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा प्रभातफेरीले बजार परिक्रमा गरि खुल्ला मञ्च खेलमैदानमा पुगेर विपद् व्यवस्थापनको पूर्वअभ्यास गरिएको थियो ।
नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरीको चण्डिका गणको गलेश्वर गुल्मका सैनिक तथा प्रहरीहरुको टोलीले भूकम्प र आगोलागिको अवस्थामा विपद् व्यवस्थापनको पूर्व अभ्यास गरेका थिए ।
पूर्व अभ्यास हुन भन्दा अघि जनप्रतिनिधि, सुरक्षा अधिकारी, कार्यालय प्रमुख, शिक्षक र विद्यार्थीहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयदेखि प्रभातफेरी सुरु गरेर बजार परिक्रमा गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षता र जिल्ला समन्वय समितिका अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख देवेन्द्र बहादुर केसीले विपद्को सामना गर्न सावधानी र सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।