मिर्गौला पीडित रोकालाई आर्थिक सहयोग

  • २६ पुष २०७५, बिहीबार
  • 1848 पटक पढिएको

म्याग्दी, २६ पुस । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि मिर्गौलामा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो ।  अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको सेन्टरले जनाएको छ ।

अभिभावक दिवसको अवसरमा अभिभावक र विद्यार्थीहरुमार्फत सङ्कलित आठहजार पाँचसय र कोरियन भाषा सेन्टरका प्रशिक्षक अर्जुन भण्डारीले नगद ६ हजार पाँचसय थप गरी नगद १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।  उक्त सहयोग रकम मिर्गौला पीडित रोकाका भिनाजु खरमान रोका र भाई जुकमान रोकालाई हस्तान्तरण गरिएको थियो ।

पीडित रोकाको आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि सानो भए पनि सहयोग पुगोस् भन्ने भावनाले आर्थिक रकम सङ्कलन गरी हस्तान्तरण गरिएको प्रशिक्षक भण्डारीले जानकारी दिएका छन् । हाल रोकाको पोखरास्थित फिस्टेल हस्पिटलमा मिर्गौलाको उपचार भैरहेको छ ।