व्यवसायि केसीले गरे कालिपुलमा व्यक्तिगत खर्चमा नाली सफाई (भिडियो सहित)

  • २१ पुष २०७५, शनिबार
  • 2574 पटक पढिएको

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा एक व्यक्तिले व्यक्तिगत लगानीमा नाली सरसफाई गरेका छन् । जलजला गाउँपालिका–७ धाईरिङ घर भई हाल बेनी स्थित कालिपुलमा व्यवसाय गर्दै आएका खेम केसीले व्यक्तिगत लगानीमा म्याग्दी प्रवेशद्धारको रुपमा चिनिने कालिपुल स्थित पिपलचोकबाट तल झर्ने बाटोमा थुप्रिएको फोहोर हटाउनुको साथै नाली सफा गरेका हुन् ।

करिब ५० मिटर नालीभित्र थुप्रिएको फोहोर व्यवस्थापन भएपछि सडकमा बग्ने ढल तत्कालको लागि व्यवस्थापन भएको छ । नाली बुझिएर फोहोर पानी सडकमै बगेपनि सम्बन्धित निकायबाट मर्मतको लागि कुनै प्रयास नभएपछि व्यक्तिगत रु २५ हजार लगानीमा डोजरको प्रयोग र कामदार खटाएर नाली सफाई गरेको केसीले बताए ।

साढे ४ घण्टा डोजर लगाएर नालीमा जमेको फोहोर र सडकमा परेको खाल्टाखुल्टी पुरेको उनले जानकारी दिए । जोडर ट्याक्टरको प्रयोग संगै दुई दिन ८ जना जनशक्ति परिचालन गरि सडक मर्मत र नाली तथा बाटो सफाई गर्दा लागेको खर्च आफैले व्यहोरेको उनले बताए ।

‘‘ पटक पटक कालिपुल क्षेत्रको सडकलाई व्यवस्थित बनाउन माग गर्दै आएका छौँ, तर कहिल्यै सुनुवाई भएको छैन्, हिलो, धुलो र फोहोर व्यवस्थापनमा स्थानीय सरकारको ध्यान पुग्न नसक्नु दुखत हो’’–उनले भने । म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुल क्षेत्रको सडक कालोपत्र नहुँदा जिल्लाकै विकासमा प्रश्न उठ्ने गरेको छ । यस क्षेत्रमा सडकमा ढल र फोहोर पानी बग्दा मोटरसाईकल चालकहरु चिप्लीएर सडकमै लड्ने समस्या समेत विद्यमान रहेको छ ।