प्रदेशको पञ्चवर्षीय योजना तर्जुमाका लागि बेनीमा सुझाव संकलन

  • २१ पुष २०७५, शनिबार
  • 1272 पटक पढिएको

बेनी २१ पुष । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षिय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ ।बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी संघ संस्था र सरोकारवालाहरुबाट सुझाव संकलन गरेको हो ।

छलफलका क्रममा सहभागीहरुको पाँच वटा समूह बनाएर म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायहरुको विषयगत रुपमा लिखित सुझाव संकलन गरेको छ ।सहभागीहरुले म्याग्दीको पर्यटन, जलविद्युत, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरिवि निवारण, आयआर्जन वृद्धी र जिवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसीमका योजना तथा कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।

म्याग्दीको सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता दिन सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । भौगोलिक विकटता, प्रतिकुल भुगोल, सामाजिक पछौटेपन, बसाइसराईका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता दिनुपर्ने सुझाव छ ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशको बस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाहरुको सुझाव अनुसार पञ्चवर्षीय योजना बनाउन लागिएको बताए । गण्डकी प्रदेशका सांसद बिनोद केसीले आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महशुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव संकलन गरिएको बताए ।आयोगका अध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेलले सरोकारवालाहरुको सुझाव र विषयबस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने बताउनुभयो ।