मालिकाका एक हजार जेष्ठ नागरिकलाई परिचयपत्र वितरण
- १८ पुष २०७५, बुधबार
- 2379 पटक पढिएको
बेनी १८ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजार जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।
एक हप्ता १ नम्बर वडा निस्कोटबाट सुरु भएको घुम्ती शिविर बुधबार गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङमा समापन गरिएको छ । शिविरको क्रममा ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै स्वास्थ्य उपचार, कृषकलाई बिउ, बिजन, पशुपक्षिको उपचारका लागि निशूल्क औषधी र परामर्श सेवा दिइएको थियो ।
वडामै परिचयपत्र पाउँदा जेष्ठ नागरिक र अशक्तहरुलाई गाउँपालिकाको कार्यालयमा पुग्ने समय र खर्चको बचत, झञ्जट हटेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै पुगेर परिचयपत्र वितरण गरेका हुन् ।अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष बिटालु, प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका प्रमुख राजेश थापा, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरहरुको टोलीले सेवा दिनुभएको थियो ।
परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ । अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको छ । बुधवार वडा नम्बर ६ दरबाङमा आयोजित शिबिरमा १४४ जनाले ज्येष्ठ नागरिक परिचयपत्र लिएका छन् ।