निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन माघ ५ गते तोकियो

  • १७ पुष २०७५, मंगलवार
  • 1696 पटक पढिएको

म्याग्दी, १७ पुस ।  निर्माण ब्यवसायी संघ म्याग्दीभित्र देखिएको आन्तरिक विवाद समाधान उन्मुख भएको छ । मंगलवार बेनीमा भएको निर्माण व्यवसायिहरुको भेलाले आगामी माघ ५ गते १० औ अधिवेशन तथा १८ साधारणसभा गर्ने निर्णय गरेको छ । वर्तमान समितिको अबधि सकिएको र नयाँ नेतृत्व चयन हुन नसकेको सन्दर्भमा संघभित्रका व्यवसायिहरु दुई कित्तामा विभाजीत भएका थिए । संघको नयाँ नेतृत्व चयनको लागि वर्तमान नेतृत्वबाट असन्तुष्ट पक्षले छुट्टै तदर्थ समिति नै गठन गरिसकेको थियो ।

संघभित्रको विवाद निरुपण गर्दै नयाँ नेतृत्व चयनको लागि पुस ३ गते जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलबाट सर्वसम्मत रुपमा तदर्थ समिति गठनको लागि नारायणबहादुर जिसी र अमरबहादुर बानियाँलाई भेला संयोजक तोकेको थियो ।

दुबै संयोजकद्धारा मंगलवार संयुक्त रुपमा आह्वान गरिएको भेलाबाट अधिकतम सहमतीको आधारमा वर्तमान समितिलाई नै अधिबेशन गराउने जिम्मेवारी दिईएको संघका सल्लाहकार सन्तोष रावलले जानकारी दिनुभयो ।

भेलाले सन्तोष रावलको संयोजकत्वमा विधान संसोधन गर्नको लागि मनप्रसाद कँडेल, बीरबहादुर थापा, अमर बानियाँ, नेत्र बहादुर महत सहित अधिवक्ताद्धय सागरजिवि उपाध्याय र धुव्रराज शर्मा सदस्य रहेको समिति समेत गठन गरेको छ ।

यसैबिच ८२ जना सदस्य रहेको संघको मंगलवारको भेलामा सहभागी ६२ जनामध्ये ११ जनाले सो निर्णय अदालतले भने बमोजिम सर्वसम्मत हुन नसकेको भन्दै नोट अफ डिसेन्ट लेखेर आफ्नो असहमती जाहेर गरेका छन् । असहमती जाहेर गरेका सदस्यहरुको भावनालाई समेत समेट्दै भेलाले दिएको म्याण्डेट अनुसार तोकिएकै मितिमा अधिबेशन गर्नेगरि तयारी सुरु गरिएको जिसीले बताउनुभयो ।