भूतपूर्व सैनिक सहकारीको तेह्रौ बार्षिक साधारणसभा : विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती

  • १४ पुष २०७५, शनिबार
  • धिरन खत्री
  • 2161 पटक पढिएको


बेनी १४ पुष । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ बार्षिक साधारण सभाको अवसरमा ४ जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ । सरकारी क्याम्पस तथा स्कूलमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई साधारण सभाको अवसरमा छात्रवृत्ती वितरण गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत मंगला गाउँपालिका– ४ बरंजाका  अपाङ्गता भएका सोमप्रसाद सापकोटा, रघुगंगा गाउँपालिका–३ का विशेष केसी र अमर मावि पाखापानीमा अध्ययनरत रघुगंगा गाँउपालिका– ६ पाखापानीका विपन्न परिवारका  जेहन्दार विद्यार्थी आविष्कार पाईजा र नेहा पाईजालाई जनही ७ हजार ५०० रुपैयाँ दरले छात्रवृत्ती प्रदान गरिएको थियो । छात्रवृत्ती वितरण संस्थाका अध्यक्ष बालकृष्ण सुवेदी र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले गरेका थिए ।

१ हजार ८७ जना शियर सदस्य रहेको संस्थाको १ करोड ७ लाख ४२ हजार ९०० रुपैया शेयर पुँजी रहेको छ । आर्थिक बर्ष २०७४/७५ मा १५ करोड १० लाख २० हजार ६५ रुपैया कारोवार, जगेडा कोष ४६ लाख ४० हजार ३१ रुपैया, बचत १२ करोड ८० लाख ६५ हजार ५७४ रुपैया र लगानी ११ करोड ३५ लाख १५ हजार १० रुपैयाँ सहकारीको रहेको छ । भने मुनाफाँ १३ लाख ५५ हजार ७६६ रुपैया रहेको छ । साधारण सभाको अवसरमा आर्थिक बर्ष २०७४/७५ मा सहकारीमा उतकृष्ट बचत गर्ने हरिप्रसाद पाईजा पुन, र कर्जा कारोबार गर्ने नङबहादुर थापालाई सम्मान गरिएको थियो ।

साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीले मुलुकको आर्थिक विकासमा सहकारी भूमिका महत्वपुर्ण भएको बताउदै सहकारीको लगानी कृषि, पशुपालन लगायतको उत्पादनमुलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका थिए । उनले सक्षम संचालन दक्ष कर्मचारी र चलाख शेयर सदस्य भएमा मात्र संस्थाको सेवा प्रभावकारी हुने बताए ।

त्यस्तै बेनी नगरपालिका–८ का वडा अध्यक्ष एवम् प्रवक्ता रामकृष्ण बराईली र प्रशासकिय प्रमुख छविलाल सुवेदीले “समृद्ध नेपाल सुखी नेपाली” बनाउन सरकार, सहकारी र निजि क्षेत्रको समन्वयले मात्र सम्भव रहेको बताएका थिए । साधारण सभामा सहकारी पुर्व अध्यक्ष एवम् सल्लाकार नन्दबहादुर छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा नवप्रवेशी शियर सदस्यलाई प्रमाणपत्र वितरण तथा सम्मान गरिएको थियो ।

साधारण सभामा सचिव गणेश श्रेष्ठको प्रगति, कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठको आर्थिक र लेखा समिति सदस्य नारायणप्रसाद सुवेदीको लेखा अनुगमन प्रतिवदेन प्रस्तुत गरेका थिए । सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष झलकप्रसाद गौचनको स्वागत मनतव्य र सचिव श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l