घुम्ती टोली मार्फत पाँच लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भूमिकर संकलन

  • १४ पुष २०७५, शनिबार
  • 1784 पटक पढिएको

बेनी १४ पुष । जलजला गाउँपालिकाले वडा स्तरमा सञ्चालन गरेको घुम्ती टोली मार्फत एक हप्ताको अवधिमा पाँच लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भूमिकर संकलन भएको छ । व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि वडामा खटिएको घुम्ती टोलीले एक हप्ताको अवधिमा चार वटा वडाका ७४९ जनाबाट पाँच लाख ३० हजार १२१ रुपैयाँ राजस्व संकलन भएको हो ।

३ नम्बर वडामा १२९ जनाबाट एक लाख एक हजार २५४, २ मा १७६ जनाले एक लाख १४ हजार ९३, १ नम्बर वडा बाँसखर्कमा १६९ जनाले एक लाख ३६ हजार ८६५ र ४ नम्बर वडामा २७५ जनाबाट एक लाख ७७ हजार ९०९ रुपैयाँ राजस्व संकलन भएको टोलीका संयोजक भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई वडा कार्यालयमै सम्पति तथा भूमिकर तिर्ने सुबिधा उपलब्ध गराउन आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको छ ।

एउटा वडामा एक देखि दुई दिनका दरले २२ गतेसम्म ९ वटै वडामा सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा टोलीले कर सकलन गर्ने प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।

जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ । सम्पति तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।

जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ । हालसम्म एक हजार २४ जनाले सात लाख ९५ हजार ८३८ रुपैयाँ सम्पति तथा भूमिकर संकलन भएको फोकल पर्सन आचार्यले जानकारी दिनुभयो । आईतबार ७ नम्बर वडा धाइरीङमा घुम्ती टोली खटिने गाउँपालिकाले जनाएको छ ।